जब डेरिभेटिभ सम्मेलनमा भाग लिन सेबोन अध्यक्ष रेवतबहादुरका ड्राइभर बेलायत पुगे…



बेलायत पुगेर डेरिभेटिभ सम्मेलनमा भाग लिँदै सेबोन अध्यक्ष कार्कीका ड्राइभर नहकुल भट्टराई ।

काठमाडौं । केही साताअघि बेलायतको लण्डनमा भएको डेरिभेटिभसम्बन्धी निकै महत्वपूर्ण सम्मेलनमा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीका ड्राइभर नहकुल भट्टराई सहभागी भए ।

बोर्डको तर्फबाट उक्त सम्मेलनमा कुनै पनि जिम्मेवार व्यक्ति उपस्थित थिएनन् । तर, अध्यक्ष कार्कीका ड्राइभर देखिएपछि नेपालबाटै गएका अन्य सहभागीहरु आश्चर्यमा परे ।

इन्टरनेशनल स्वाप एण्ड डेरिभेटिभ एसोसिएसन (आईएसडीए) ले आयोजना गरेको उक्त सम्मेलनमा माथिल्लो तहका कर्मचारीहरु जानुपर्नेमा किन अध्यक्षका ड्राइभर गए ? अध्यक्षले कर्मचारी नपठाएर किन आफ्ना ड्राइभरलाई पठाए ? बोर्डका कर्मचारीहरु यस्ता प्रश्न गर्दै नेतृत्वको आलोचना गरिरहेका भेटिन्छन् ।

तर, वास्तविकता भने अर्कै छ । बोर्डले भट्टराईलाई लण्डन पठाएको होइन । उनी आफैंले मिलाएर विदेश गएका हुन् ।

बेलायत पुगेर डेरिभेटिभ सम्मेलनमा भाग लिँदै सेबोन अध्यक्ष कार्कीका ड्राइभर नहकुल भट्टराई ।

बोर्डका कर्मचारीहरु आफैं मिलाउँदै विदेश जाँदै गर्न थालेपछि अध्यक्ष कार्की र कार्यकारी निर्देशक निरज गिरी लगायतका उच्च व्यवस्थापन हैरान भएका छन् । धितोपत्र बोर्डको मात्रै नभएर देशकै छविमा आँच आउनसक्ने भन्दै कर्मचारीहरुलाई आफूखुसी विदेश जानबाट रोक लगाएका छन् ।

आफ्नै ड्राइभर आफूलाई थाहा नदिई दिवेश पुगेपछि कार्यकाल सकिनै लागेको बेला अध्यक्ष कार्की कर्मचारीलाई अनुमतिबिना विदेश नजान सर्कुलर जारी गर्न बाध्य भए ।

बोर्डले एक साताअघि कर्मचारीलाई आन्तरिक सर्कुलर जारी गर्दै अनुमतिबिना विदेश गए कारबाही गर्ने चेतावनी प्रवक्ता निरज गिरीले बताए ।

यसअघि बोर्डको सेकेण्ड क्लास अफिसर नारायण शर्मा र अजय ढुंगानासमेत बोर्डको अनुमति नै नलिइ विदेश भ्रमणमा गएका थिए ।

प्रवक्ता गिरीका अनुसार बोर्डका कर्मचारीले अनुमति नै नलिइ विदेशका महत्वपूर्ण कार्यक्रममा जाँदा आफ्नै छविमा आँच आउने बताए ।

‘यसरी बोर्डका साथीहरु म बोर्डको कर्मचारी हो भन्दै बिना अनुमति आफूखुसी विदेशमा जान थाले भने भोलि समस्या आउन सक्छ भनेर नै हामीले आन्तरिक सर्कुलर जारी गरेका हौं,’ गिरिले क्लिकमाण्डूसँग भने ।

कर्मचारीहरु आफूखुसी राम्रो देशमा गएर उतै लुकेर बसेको खण्डमा बोर्डलाई मात्रै नभइ देशकै प्रतिष्ठामा आँच आउने मनन गर्दै नियन्त्रण गरिएको उनले बताए । कार्कीको कार्यकाल यही असोज महिनाभरी मात्रै छ ।


पुष्प दुलाल