गत वर्षको भन्दा मंहगियो नेपालीको भन्सा, कहाँ कति प्रतिशतले बढ्यो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार गत वर्षको तुलनामा सबै नेपालीको भन्सा महंगो भएको छ ।

राष्ट्र बैंकको अनुसार गत वर्ष १०० रुपैयाँमा सामानको मूल्य यो वर्ष १०७ रुपैयाँको हाराहारीमा पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्याङक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । चालु आवको पहिलो महिना अर्थात साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ ।

साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा ८.६३ प्रतिशत, तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्षको साउनमा उक्त जिल्लाहरुमा क्रमशः ३.४९ प्रतिशत, ४.१४ प्रतिशत, ५.२६ प्रतिशत र २.७४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

समीक्षा अवधिमा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेकोमा भारतमा अगष्ट महिनामा यस्तो मुद्रास्फीति ३.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ४.१९ प्रतिशत र भारतको ३.६९ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु