असोजभित्र ऋण नतिरे चण्डीराजलाई बैंकिङ कसूरको मुद्दा, डुबेको उद्योगमा विदेशी भित्र्याउने तयारी



काठमाडौं । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कालोसूचीका ऋणी चण्डीराज ढकाललाई असोज मसान्तसम्म ऋण चुक्ता गर्न अल्टिमेटम दिएको छ ।

ऋण असूलीलाई अभियानको रुपमा सञ्चालन गरेको बैंक व्यवस्थापनले खराब ऋणी चण्डीराजसँग ऋण उठाउन अन्तिम अल्टिमेटम दिएको हो ।

‘हामीले चण्डीराजजीलाई गत असार मसान्तभित्रै ऋण चुक्ता गरिसक्न भनेका थियौं तर उहाँले विदेशी साझेदार भित्र्याएर फेरि उद्योग चलाउने भन्दै बैंकमा प्रस्ताव दिएपछि एक पटकका लागि अवसर दिएका हौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

असोज मसान्तमा ऋण चुक्ता नगरे ऋण असूलीको कानूनी प्रक्रिया अघि बढाउने श्रेष्ठले बताए । त्यो भनेको बैंकिङ कसूरमा मुद्दा दायर गर्ने हो ।

ढकालले केही महिनाअघि उद्योग फेरि सञ्चालन गर्ने प्रस्ताव बैंकमा पेश गरेका थिए ।

‘डुबेको व्यक्तिले उद्योग चलाउनको लागि लगानी ल्याउँछु भन्दा सहयोग नगर्ने कुरा हुँदैन, त्यसैले एक पटक अवसर दिने मनस्थितीमा पुगेका हौं’ श्रेष्ठले भने ।

उनका अनुसार ढकालले विदेशी साझेदार कम्पनीसँग मिलेर व्यवसायलाई अगाडि बढाउने योजनाको कागजपत्र बुझाएका थिए ।

‘ढकालजीले व्यवसाय फेरि सुरु गर्ने योजना ल्याउनु भएको थियो, त्यसमा हामीले बिजनेश प्लान माग गरेका छौं’ उनले सुनाए ।

यद्यपि अहिलेसम्म भरपर्दो बिजनेश प्लान नआएको श्रेष्ठले बताए । तर, २/४ दिनमै बिजनेश प्लान पनि बुझाउने चण्डीको प्रतिवद्धता छ ।

‘बिजनेश प्लानमा उत्पादन क्षमता, बजार र कुन वर्ष कति आम्दानी हुन्छ भन्ने प्रष्ट र भरपर्दो योजना चाहिन्छ;’ श्रेष्ठले भने ।

उद्योग फेरि चलाउने प्रस्ताव ल्याएपछि बैंकले चालू पुँजीका रुपमा उद्योगको पुनसंरचना (रिनोभेसन) गर्न र बैंकलाई कम्तीमा १० करोड रुपैयाँ चुक्ता गर्न भनेको थियो ।

‘हामीले चण्डीराजजीलाई तत्कालै कम्तीमा १० करोड र सकेसम्म त्योभन्दा माथि ऋण तिर्नू भनेका छौं,’ श्रेष्ठले भने, ‘१० करोड रुपैयाँभन्दा कम स्वीकार्दैनौं ।’

उद्योगको पुनसंरचना गर्न २० करोड रुपैयाँ लाग्ने अध्ययनमा देखिएको छ । र, उक्त रकम पनि ढकालले नै खर्च गर्नुपर्ने हुन्छ ।

बैंकिङ कसूर मुद्दामा जेल जानबाट बच्नका लागि ढकाललाई तत्कालै कम्तीमा ३० करोड रुपैयाँ आवश्यक परेको छ । जुन रकम जुटाउनका लागि उनी छटपटिएका छन् ।

स्रोतका अनुसार चण्डीको ऋण सल्ट्याउने नियत भएका केही व्यवसायीहरुले रकम उठाएर सहयोग गर्ने बाचा पनि गरेका छन् । अहिलेको चण्डीराजको आत्मबल भनेको केही व्यवसायीहरुको त्यही बाचा हो ।

चण्डीराजले ३० करोड रुपैयाँ जुटाएर उद्योगको पुनसंरचनामा खर्च गरेपछि उनको उद्योग ‘मोमेन्टो एपेरिएल्स’ नामक गार्मेन्ट उद्योगले लिएको ३१ करोड ऋणको रि-क्याल्कुलेशन हुन्छ । ३१ करोड सावाँको साधारण ब्याज जोड्दा अहिले चण्डीले बैंकलाई ८० करोड रुपैयाँ तिर्नुपर्ने छ ।

करिब-करिब फूलबारी रिसोर्टकै शैलीमा मोमेन्टोको समस्या समाधान गर्ने प्रक्रिया अघि बढाइएको सीइओ श्रेष्ठ बताउँछन् ।

बन्द रहेको सार्ककै ठूलो फूलबारी रिसोर्ट अब अन्तर्राष्ट्रिय चेन ‘म्यारियट ग्रुप’ले सञ्चालन गर्ने

उद्योग चलिसकेपछि हुने नगद प्रवाहका आधारमा ऋणको पुर्नमूल्यांकन गरी निश्चित अवधिसम्म निश्चित रकम किस्ता तिर्नुपर्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

निश्चित अवधिसम्म नियमितरुपमा किस्ता तिरेको खण्डमा बैंकले ब्याजदरमा बम्पर सहुलियत दिने छ । किस्ता नियमित भएन भने मुद्दा पूरानै अवस्थामा फर्किन्छ ।

‘ढकालले दुवइको प्रफेक्ट इनड्रष्टिज ग्रुपलाई उद्योग सञ्चालनको व्यवस्थापकीय जिम्मा दिन्छु भनेर प्रस्ताव ल्याएपछि हामीले त्यो कम्पनीसँग भएको सम्झौता र त्यसका सञ्चालकलाई बैंकमा सम्पर्क राख्न भन्यौं,’ ‘श्रेष्ठले भने, ‘उक्त कम्पनीका कार्यकारी अध्यक्ष थोमस नेपाल आएर मसँग २ पटक मिटिङ गरिसकेका छन् ।’

भारतीय मूलका थोमसले बैंकको प्रतिवद्धता भए आफू चण्डीको उद्योग मोमेन्टको व्यवस्थापन सम्हाल्न आउने बताए ।

त्यस्तो हो भने बैंकले प्रफेक्ट र मोमेन्टोबीच भएको सम्झौता ल्याउन भन्यो । उनीहरुले सम्झौता पनि बुझाइसकेका छन् ।

‘अघिल्लो हप्ता मात्रै म चण्डीजीसँग बसेको थिएँ,’ श्रेष्ठले भने, ‘अहिलेसम्म सकरात्मकरुपमा राम्रै प्रगति भइरहेको छ । अब एक चरण बसेपछि टुंगो लाग्ने सम्भावना छ ।’

चण्डीराजको प्रस्ताव बैंक सञ्चालक समितिमा लाने तयारी गरिरहेको उनले जानकारी दिए । यो मुद्दा सल्ट्याउन चण्डीराज गम्भीर देखिएको पनि उनले बताए ।

‘असोज मसान्तसम्ममा टुंगिएन भने हामी ऋण असूलीको प्रक्रिया अघि बढाउँछौं भनेर हामीले चण्डीजीलाई भनिसकेका छौं,’ श्रेष्ठले भने, ‘उहाँ (चण्डीजी)ले म थोमसलाई पनि बोलाउँछु, बैंक, थोमस र म त्रिपक्षीयरुपमा अन्तिम बैठक बसेर टुंगो लगाउनुपर्छ भन्नुभएको छ ।’

चण्डीराजले आफूले राम्रो काम गर्दागर्दै परिस्थितिले धोका दिएका कारण समस्यामा परेको बताउँदै आएका छन् ।

‘ऋणमा डुबेर कालोसूचीमा नपरेको भए देश हल्लाउन सक्ने क्षमता भएको मान्छे हुँ, मसँग धेरै क्षमता छ, तर बैंकको ऋणले साह्रै अफ्ठेरो पर्यो, यसपाली त जसरी भएपनि सल्ट्याउनुपर्छ,’ चण्डीराजले आज भोलि आफू निकट व्यवसायीहरुसँग भन्ने गर्छन् ।

जब नतिर्ने लबिङले काम गरेन

ढकालले ऋण नतिर्नका लागि बन्द भएको आफ्नो उद्योगलाई रुग्ण उद्योगमा राख्न सरकारी अधिकारीहरुलाई दबाब दिए । महासंघ नेतृत्वले पनि तीव्र लबिङ गर्यो ।

चण्डीजस्तै व्यापारीहरुले ऋण नतिरेपछि पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक कुनैबेला धरासायी भएको थियो । सरकारले विश्व बैंकबाट ऋण लिएर वित्तीय क्षेत्र सुधार कार्यक्रम संचालन गर्नु परेको थियो ।

अहिले फेरि चण्डीलाई ऋण तिर्नका लागि तीव्र दबाब आएको छ ।

प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडाले समेत ऋण नतिरे कानूनी प्रक्रियाबाट असूल गर्ने चेतावनी दिइसकेका छन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीले अब बचाउन नसक्ने बताएपछि चण्डीले बैंकसँग नेगोसेसन गरिरहेका छन् । नेगोसेसनमा उद्योग वाणिज्य महासंघका अहिलेका केही पदाधिकारी पनि लागेका छन् ।

महासंघ शक्तिको दुरुपयोग, बैंकविरुद्ध आन्दोलन

२०६३ सालमा नेपाल उद्योग वाणिज्य महासंघले बन्दको आयोजना गर्यो । त्यो बेला महासंघको अध्यक्ष थिए चण्डिराज । देशभरका व्यवसायीले महासंघको आह्वानमा आफ्नो व्यवसाय बन्द गरे ।

कारण थियो ऋण नतिर्ने ठूला ऋणीलाई राष्ट्र बैंकले गर्न थालेको कारवाही । किनभने महासंघ अध्यक्ष ढकाल आफैं बैंकको ऋण नतिर्ने व्यवसायीमा थिए ।

२०६४ सालमा महासंघको नयाँ नेतृत्व चयन हुनुपर्ने थियो ।

महासंघको विगतको परम्परा अनुसार अध्यक्ष बन्ने पालो दिवाकर गोल्छाको थियो । त्यो बेला विधानअनुसार प्रथम उपाध्यक्ष अध्यक्ष बन्ने चलन थियो । ढकालले महासंघको अध्यक्षमा पुनः दोहरिन खोजे ।

अध्यक्षको प्रतिस्पर्धाबाट दिवाकर गोल्छा बाहिरिए भने द्वितिय उपाध्यक्ष रहेका कुशकुमार जोशी अध्यक्षको प्रतिस्पर्धामा उत्रिए । निर्वाचनमा अध्यक्षमा जोशीले ढकाललाई हराइदिए ।

ढकाल अध्यक्षमा दोहरिन चाहनुको कारण थियो बैंकको ऋण नतिर्नू । त्यो बेला ढकाललाई राजस्व अनुसन्धान विभागले समेत छानबिन गरेको थियो । त्यो अनुसन्धानलाई निस्तेज पार्न ढकाल फेरि महासंघको अध्यक्ष बन्न चाहन्थे ।

जसको कुनै उद्योग नै छैन । जो उद्योग गर्नबाट पूर्ण असफल भइसकेको छ । तर त्यही व्यक्तिको उद्योगी व्यवसायीहरुको संस्थाको नेताहरुको पनि नेता बन्ने चरम महत्वकांक्षाले महासंघको शाख गिराइरहेको छ ।

२०७५ सालमा पुनः उद्योग वाणिज्य महासंघ र बैंकरबीचको विवाद भयो । यसको सुरुवात बिराटनगरबाट भएपनि यसमा पर्दा पछाडिका खेलाडी हुन् चण्डीराज ।

मोरङ व्यापार संघ र उद्योग संघले बैंकले कर्जाको ब्याजदर नबढाएको भन्दै गरेको आन्दोलन सडक हुँदै प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्यो । व्यवसायीहरुले खुल्ला बजार अर्थतन्त्र विपरीत सरकारले नै निक्षेप र कर्जाको ब्याजदर तोक्नुपर्ने माग राखे ।

महासंघमा यो पटक ब्याजदर आन्दोलनको पछाडि महासंघको राजनीतिले थियो । २०६४ सालमा अध्यक्षमा दोहोरिन खोज्दा असफल भएका चण्डीराजलाई त्यसको असर कस्तो सँग पर्यो राम्रोसँग थाह छ । त्यसैले चण्डी सँधै महासंघको नेतृत्व आफ्नो तरिकाले चलाउन चाहन्छन् ।

२०६४ सालमा चुनाव हारेपछि व्यवसायिक रुपमा चण्डीका दुःखका दिन सुरु भए । बैंकले ऋण नतिरेको भन्दै कर्जा सूचना केन्द्रमा कालोसूचीमा राख्यो । धितो राखेको घर लिलाम भयो । २०६४ सालको निर्वाचनमा आफू हारे पनि पदाधिकारीमा चण्डीकै टिमले जितेको थियो ।

महासंघको संरचनामा भएको भोटभारको आधारमा जिल्ला नगरसँग ५० प्रतिशत मतभार छ । उक्त मतभारमा चण्डीराजको ६० प्रतिशत पडक छ । जसलाई उनले बार्गेनिङ गर्ने थलो बनाउँदै आएका छन् ।

२०६४ सालमा चुनाव हारे पनि महासंघको राजनीतिमा चण्डी हाबी छन् । चण्डीले त्यसपछि जसलाई समर्थन गरेका छन् । उसले चुनाव जितेको रेकर्ड छ । २०६७ सालको निर्वाचनमा चण्डीले सुरज वैद्यले समर्थन गरे । जिताउन हिँडे । तत्कालिन अध्यक्ष कुशकुमार जोशीले समर्थन गरेका आजाद श्रेष्ठले निर्वाचन हारे ।

त्यसपछि चण्डीले प्रदिपजंग पाण्डेलाई समर्थन गरे । तत्कालिन अध्यक्ष वैद्यले समर्थन गरेका भाष्करराज राजकर्णिकारले चुनाव हारे । पाण्डेले चुनाव जितेपछि उनको भ्रष्टाचारको मुद्दा उठ्यो । एउटा कर्पोरेट गेमको शिकार भएका पाण्डेले एक वर्ष मात्र अध्यक्ष बन्न पाए ।

त्यसपछि तत्कालिन बरिष्ठ उपाध्यक्ष पशुपति मुरारका महासंघको अध्यक्ष बने भने बरिष्ठ उपाध्यक्ष भवानी राणा ।

यसबीचमा बरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने गरेर महासंघको विधान संशोधन भयो । २०७३ सालमा भएको महासंघको अधिवेशनमा बरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधानबीच प्रतिस्पर्धा भयो । चण्डीको समर्थन गोल्छालाई थियो ।

त्यसपछि महासंघको जिल्ला नगर उपाध्यक्ष रहेका प्रमोद श्रेष्ठ स्थानीय चुनाव लड्न गएपछि उपाध्यक्ष पद खाली भयो । चण्डीले त्यसमा श्रेष्ठलाई समर्थन गरेर ल्याए । त्यसपछि महासंघमा पुनः विधान संशोधनको कुरा उठ्यो ।

विशेष साधारणसभाबाट विधान संशोधन समितिका संयोजक नै चण्डी बनाइए । यसमा चण्डीले बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान हटाउने विकल्प राख्दै विधान संशोधनको मस्यौदा बुझाइसकेका छन् ।

महासंघको कार्यकारणी समितिमा विवादका बाबजूत बहुमतले विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न आगामी कात्तिक २९ गतेका लागि विशेष साधारणसभा बोलाइएको छ ।

आगामी चैतमा हुने महासंघको अधिवेशनबाट आफूले भनेको मान्छे अध्यक्ष बनाउन पाइयो भने आफू छायाँ अध्यक्ष हुने र यस्तै बार्गेनिङ गर्न पाइने सपना सपना देखेर चण्डीराज महासंघको राजनीतिभित्र सक्रिय बनिरहेको बताइन्छ ।


पुष्प दुलाल