प्रधानमन्त्रीले ओलीले भने– काम नगर्ने ठेकेदारलाई आजीवन अयोग्य घोषणा गर्नुहोस्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै काम नगरी अटेर गर्ने ठेकदारलाई भविष्यमा समेत अयोग्य घोषणा गर्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४६ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विकास निर्माणको काममा हेलचेक्राइ गर्ने र मौका पाउँदा समेत काम नगर्नेलाई आजीवन अयोग्य हुने गरी घोषणा गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘विकास निर्माणको काममा ढिलाइ गर्दा त्यसको मार जनतामा पर्छ, १० वर्ष अघि निर्माण हुने बाटो नबन्दा त्यसले गर्दा जनताको जीवनमा कति फरक पार्छ त्यसको क्षतिपूर्ती भराउँदै अयोग्य घोषित गर्नुपर्छ ।’

प्रधानमन्त्रीले काम नगर्ने ठेकेदारलाई ब्ल्याकलिस्ट भन्दा पनि डार्कलिस्टमा राख्नुपर्ने बताए ।

समयमा बाटो बनेको भए कति विद्यार्थी स्कुल जान पाउँथे, अन्य विकासका कामले गती लिन सक्थ्यो तर एउटा ठेकेदारले काम नगर्दा कति जनतालाई असर पर्छ त्यो ख्याल गरिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

ओलीले ठेकेदारले पनि राजनीतिक आस्थाका कारण ठेक्का पाउने उल्लेख गर्दै त्यही आधारमा समयमै काम नभएको बताए । उनले भने, ‘यस्ता ठेकेदारलाई कारबाही गर्न खोज्यो, गाह्रो हुने अवस्था भयो ।’

उनले भने, ‘चिलले कुखुराका चल्ला समात्न जाँदा आमाको पखेटामा लुक्दा चल्ला बचे जस्तै, अहिले राजनीतिक आस्थाका आधारमा ठेकेदारहरु बचिरहेका छन् ।’

निर्वाचनपछि राजनीतिक परिवर्तन भएको र त्यसबाट प्राप्त जनमतले अपेक्षा सहितको विश्वास लिएको भन्दै यस्तो बेलामा पनि काम गर्न नसक्ने हो भने कहिल्यै गर्न नसकिने बताए ।

ओलीले सरकारले पपुलिस्ट हुने र वितरणमुखी काम नगर्न भन्दै दीगो विकासका लागि काम गर्नु निर्देशन दिए ।

उनले भने, ‘अब हामी दीगो विकासको काममा अगाडि बढ्नुपर्छ । पपुलिस्ट हुने र वितवरणमूखी काम गर्नु हुँदैन् ।’

प्रधानमन्त्री ओलीले मुलुकको विकास गर्ने काममा जनतालाई अगाडि बढाउन समेत निर्देशन दिए । उनले सरकारले नीति बनाउने, बाटो देखाउने र सहज वातावरण गर्ने भन्दै काम गर्न जनता आफै तयार हुनुपर्ने बताए ।

उनले भने, ‘सरकारले मात्रै काम गर्दैन, जनताले पनि काम गर्नुपर्छ , त्यसका लागि जनतामा विकासको भावना जगाउन सक्नुपर्छ ।’

ओलीले जनताको क्षमता अभिवृद्धि गर्नका लागि शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए ।


क्लिकमान्डु