भैरहवा विमानस्थलको जिम्मा म्यूनिख एयरपोर्टलाई



काठमाडौं । सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी जर्मनको म्यूनिख विमानस्थललाई दिने तयारी गरेको छ ।

शनिबार पर्यटनमन्त्रीले पत्रकारहरुसँग छलफलका क्रममा अन्य विमानस्थलले चासो देखाए पनि म्यूनिख एयरपोर्टसँग निर्णयको अन्तिम चरणमा पुगिएको हो ।

उनले भने, ‘हामीले जी टु जी प्रक्रियाबाट आव्हान गरेका थियौं । त्यसमा केही अन्तर्राष्ट्रिय विमानस्थलहरुले चासो देखाउनु भएको थियो । तर, ठोस प्रस्ताव सहित आएको म्यूनिख एयरपोर्ट हो । उहाँहरुबारे हामीले अध्ययन गरेका छौं । उहाँहरुसँग हामी धेरै नजिक पुगेका छौं । विमानस्थल सञ्चालनका लागि, अब हामीले केही समयमै टुंगोमा पुर्याउनु छ ।’

एयरपोर्ट आगामी डिसेम्बरसम्ममा निर्माण सम्पन्न भइसक्ने र अर्को २ महिनापछि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको उनले बताए ।

उनले भने, ‘अहिलेसम्मको काम हेर्दा उहाँहरु (चिनियाँ कम्पनी)ले डिसेम्बरसम्ममा काम सकेर चाँबी बुझाउँछु भन्नु भएको छ । हामीले पनि अनुगमन गरिरहेका छौं । त्यसको अर्को २/३ महिना तयारी गर्न समय लाग्न सक्छ । किनभने सुरुमै जहाज उडाउन र टेकअफ गर्न मिल्दैन, त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड तोकिनुपर्छ, सबैले मोनिटरिङ गर्नुपर्छ त्यसका लागि केही समय लाग्छ त्यो बढीमा मार्चसम्म लाग्न सक्छ ।’

विमानस्थल सञ्चालनमा आइसकेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई ल्याउनका लागि सरकारले बुद्ध धर्म बढी मान्ने मुलुकका विमानहरुलाई भैरहवामा ल्याउने हाम्रो पहिलो प्रयास भइरहेको मन्त्री भट्टराईले जानकारी दिए ।

उनका अनुसार लुम्बिनीलाई लक्षित गरी बुद्ध धर्म मान्ने मुलुकका धर्मालम्बीहरु आउन सक्ने सम्भावना बढी रहेकाले त्यस्ता देशका एयरलाइन्सहरुलाई प्राथमिकतामा राखिएको हो ।

जसमा चीन, म्यानमार, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका र थाइल्याण्डका एयरलाइन्सहरु प्राथमिकतामा हुनेछन् ।

साथै उनीहरुलाई के कस्ता सुविधा दिने हो त्यसमा पनि हामीले छलफल सुरु गरेका छौं । त्यो पनि हामी छिट्टै घोषणा गर्नेछौं ।

भैरहवा विमानस्थल निर्माण भइ सञ्चालनमा आइसकेपछि नेपाल प्रवेश विन्दु पनि भैरहवा हुनेछ । अहिले नेपाल प्रवेश विन्दु एक मात्रै सिमरा रहेकोमा अब भैरहवाबाट पनि अन्तर्राष्ट्रिय विमान आउन सक्नेछन् ।

मन्त्री भट्टराईले नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेश विन्दुका लागि भारतसँग छलफल भइरहेकको समेत बताए ।


क्लिकमान्डु