यी कम्पनीले आफ्ना लगानीकर्तालाई दशैं खर्च दिँदैछन्



काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ को दुई महिना सकिँदा ४० वटा बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट लाभांशको घोषणा गरेका छन् ।

लाभांश दिने बैंक तथा वित्तीय संस्थाहरुमा ६ वटा त वाणिज्य बैंक नैं रहेका छन् । ६ वटा वाणिज्य बैंकले लाभांशको घोषणा गरेका छन भने यसमा पनि ३ वटा वाणिज्य बैंकले भने दशैअघि नै साधारण सभा गरेर लगानीकर्तालाई लाभांश दिने तयारीमा रहेका छन् ।

दशैंअघि नै साधारण सभाको तयारीमा रहेका बैंकहरुमा एनआईसी एशिया, सिटिजन्स र कुमारी बैंक रहेका छन् । एनआईसी एसिया र सिटिजन्स बैंकको साधारण सभा असोज १० गते हुने भएको छ भने कुमारी बैंकको साधारण सभा असोज ११ गते हुँदैछ ।


उक्त साधारण सभाले घोषणा गरेको लाभांश पारित गरेको खण्डमा दशैं अघि नै बैंकहरुले लाभांश पाउने छन् ।

एनआईसी एसिया बैंकले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने सिटिजन्स बैंकले ३ प्रतिशत बोनस, १२ प्रतिशत नगद र कुमारी बैंकले १० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

लाभांश गरेका बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्सको रहेको छ । मिर्मिरेले ४५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यस्तै धेरै लाभांश दिनेबाट दोस्रोमा सूर्योदय लघुवित्त वित्तीय संस्था रहेको छ । सूर्योदयले लगानीकर्ताहरुलाई ४४.४७ प्रतिशत लाभांश दिने भएको छ ।

अहिले अन्य बैंक तथा वित्तीय संस्थाले गत आवको नाफाबाट लाभांश घोषणा गर्ने क्रम पनि बढी रहेको छ । अघिल्लो आवको नाफाबाट लगानीकर्ताहरुलाई लाभांश दिँदा बैंक तथा वित्तीय संस्थाले नगद लाभांशमा जोड दिएका थिए ।

तर गत आवको नाफाबाट भने बढी बोनसमा जोड दिएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाले आवको ६ महिना अर्थात् पुस मसान्तभित्र वार्षिक साधारणसभा गर्नुपर्ने कानूनी व्यवस्था समेत रहेको छ ।


पुष्प दुलाल