सीइओको लविङले नपुगेपछि बैंकका अध्यक्षहरु पनि संगठित, जन्मियो ‘चेयरम्यान एसोशिएसन’



काठमाडौं । बैंकका अध्यक्षहरु पनि संगठित भएका छन् । प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको लविङले मात्रै नपुगेको निष्कर्श निकाल्दै बैंकका अध्यक्षहरुले ‘चेयरम्यान एशोसिएशन’ गठन प्रक्रिया अघि बढाएका हुन् ।

बैंकका अध्यक्षहरुको संगठन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ताको अन्तिम चरणमा छ ।

‘भरेभोलि नै दर्ताको प्रमाणपत्र हात लाग्छ’ एक बैंकका अध्यक्षले भने ।

जिल्ला प्रशासन कार्यालयमा एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान तदर्थ समितिको संयोजक राखेर चेयरम्यान एशोसिएशन दर्ता प्रक्रिया अघि बढाइएको हो ।

बैंकमा आइपर्ने विभिन्न समस्या र पोलिसि लविङका लागि सीइओहरुको संगठन नेपाल बैंकर्स संघले गर्दै आएको छ ।

‘बैंकर्स संघले राष्ट्र बैंकमा मात्रै लबिङ गर्न सक्छ, अध्यक्षहरुको संगठनले मन्त्री र प्रधानमन्त्रीसमक्ष पोलिसि लबिङ गर्न सक्छ,’ एक बैंकका अध्यक्षले भने, ‘बैंकिङ क्षेत्रका लगानीकर्ताहरुको हकहितका लागि पोलिसि लबिङ गर्ने उद्देश्यले संगठित हुनु परेको हो ।’

पछिल्लो समय बैंकलाई चारैतिरबाट पेल्न थालिएपछि संस्था जन्माउनु परेको अध्यक्षहरु बताउँछन् ।

‘उद्योग वाणिज्य महासंघले संगठितरुपमा बैंकका विरुद्ध लबिङ गरेर आफ्ना माग पूरा गरे,’ ती अध्यक्षले भने, ‘हामी संगठित नहुँदा हाम्रा कुरा कसैले पनि सुनेनन् ।’


पुष्प दुलाल