पर्यटनमन्त्रीले भने- विमानस्थलमा ड्युटी फ्रि पसल फेरि सुरु गर्नुहोस, मेटल फ्रिका नाममा दुःख नदिनुस्



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थलमा ड्युटी फ्रि पसल पुनः सञ्चालन गर्न निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालय र विमानस्थलका सरोकारवाला पक्षसँग छलफलका क्रममा पुनः ड्युटी फ्रि पसल सुरु गर्न निर्देशन दिएका हुन् ।

‘विमानस्थलस्थित ड्यूटी फ्रि पसल पुनः सञ्चालनको निम्ती बिक्री गरिने सामानहरुको सूचीसहित विमानस्थल व्यवस्थापनवाट यथाशीघ्र पेश गर्न र मन्त्रालयस्तरबाट सम्बन्धित निकायमा समन्वय गरी ड्यूटी फ्रि पसल सञ्चालनका लागि पहल गर्ने निर्देशन दिनु भएको छ’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रले जानकारी दिए ।

यसअघि २०६५ सालमा तत्कालिन समयमा अर्थमन्त्री डा.बाबुराम भट्टराईले विभिन्न वस्तुको भन्सार छुट (ड्यूटी फ्रि) माफृत वस्तु आयातमा रोक लगाएका थिए ।

मन्त्री भट्टराईले बिहीबारको छलफलमा विमानस्थल भएर आउने आगमन यात्रुहरुलाई आगमन भन्सार क्षेत्रमा मेटर फ्रिका नाममा अनावश्यक सास्ती व्यहोर्नु परेको र त्यस्तो कार्य अन्तर्राष्ट्रिय र प्रचलित व्यवहार प्रतिकुल भएकाले तत्काल रोक्न निर्देशन समेत दिए ।

छलफलका क्रममा हाललाई मेटल फ्रिको साटो यात्रुहरुबाट नमूना छनोट गरी स्क्रिनिङ गर्ने र सम्वद्घ मन्त्रालय वा उपल्लो निकायमा समेत आवश्यक समन्वय गरी सो क्षेत्रलाई स्क्रिनिङ फ्रि गर्न निर्देशन दिएका थिए ।

साथै, विमानस्थलमा सञ्चालन भईरहेका ट्याक्सीहरुको गुणस्तर सुधार गर्नका लागि अध्ययन गरी एक मिहनाभित्र प्रतिवेदन पेश गर्नका लागि समेत निर्देशन दिएका छन् ।

पर्यटनमन्त्रीको निर्देशन जस्ताको तस्तै


क्लिकमान्डु