सिमेन्टमा गुणस्तर सूचांक हेरफेर हुने गरी कुनै वस्तु मिसावट गर्न पाइँदैन: नापतौल विभाग




काठमाडौं । सिमेन्टको गुणस्तर सूचांकमा हेरफेर हुनेगरी कुनै पनि वस्तु मिसावट गर्न पाउने गरी सिमेन्टको मापदण्ड जारी नगरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
विभागले केही समय अगाडि जारी गरेको सिमेन्टको नयाँ मापदण्डको विषयमा बाहिर आएको सूचनामा समेत कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।

छिमेकी राष्ट्र भारतमा समेत सिमेन्टको गुणस्तर आईआरको मान २ प्रतिशत रहेको अवस्थमा नेपालमा गुणस्तर निर्धारण गर्दा २ प्रतिशत कायम थियो ।

तर हाल संशोधनपश्चात भारतीय गुणस्तरमा आईआरको मान ५ प्रतिशत रहेको र नेपाल गुणस्तर ४९, २०७६ मा पनि ३३ ग्रेडको हकमा ४ प्रतिशत र ४३ र ५३ ग्रेडको हकका ३ प्रतिशत अघुलनशील पदार्थको मान कायम गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जनाकारी दिए ।

तर गुणस्तरको सूचांकमा हेरफेर गरी मिसावट गर्न छुट दिएको जस्तो गरी भ्रम सिर्जना गर्न खोजिएको विषयमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

‘ओपिसी सिमेन्टमा क्लिंकर एवम जिप्सन बाहेकका कुनै पनि गैर कच्चा पदार्थ विगतमा पनि प्रयोग गर्ने छुट छैन र हाल पनि छैन’ उनले भने, ‘भारतीय गुणस्तरमा अघुलनशील पदार्थको मान ५ प्रतिशत रहँदा संरचना कमजोर नहुने तर नेपाल गुणस्तरमा ४ प्रतिशत र ३ प्रतिशत हुदा संरचना कमजोर हुन्छ भन्नु केवल निहित स्वार्थ राखेको मात्र हो ।’

यसअघि नेपाल गुणस्तर ४९ मा म्याग्नेसियमको मान ५ प्रतिशत रहेकोमा ३३ ग्रेडको हकमा ६ प्रतिशत र ४३ तथा ५३ ग्रेडको हकमा ५ प्रतिशत नै कायम गरिएको छ ।

जबकि भारतीय सिमेन्टको गुणस्तरमा म्याग्नेसियमको मान ३३, ४३ र ५३ ग्रेड सबैको हकमा ६ प्रतिशत नै कायम गरिएको छ । नेपालमा सञ्चालित सिमेन्ट उत्पादन प्रविधि भारतमा भन्दा कम नरहेको तथा नेपाली उद्योगहरु पछिल्लो दशकमा निर्माण गरिएकाले अधिकांशको प्रविधि राम्रो रहेको हुँदा भारतीय गुणस्तरमा भन्दा म्याग्नेसियमको मान नेपाल गुणस्तरमा कम हुँदा संरचना कमजोर हुने भनी गलत मनसायका साथ प्रचारप्रसार गर्न खोजिएको उनको भनाइ छ ।

सिमेन्ट मापदण्ड संशोधनपछि विगतमा ३३ ग्रेडको मात्र गुणस्तर रहेकोमा हाल ४३ र ५३ ग्रेड जस्तो उच्च गुणस्तर समेत मापदण्डमा समावेश भएकोले सिमेन्टको गुणस्तरमा अझ वृद्धि हुने उनको दाबी छ ।


क्लिकमान्डु