कित्ताकाट रोकिए पनि घर-जग्गामा लगानी बढ्यो, वाणिज्य बैंकले दिए ३ खर्बबढी ऋण




काठमाडौं । सरकारले जग्गाको कित्ताकाँटमा कडाइ गरेपछि रियल स्टेट कारोबार केही सुस्ताए पनि यो क्षेत्रमा बैंक लगानी भने बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा) १५ प्रतिशतले बढेको छ ।

लगानीका अन्य उपयुक्त विकल्प नभएकाले प्रतिकूल अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाले रियल स्टेट क्षेत्रमा लगानी विस्तार गरिरहेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुले रियल स्टेट क्षेत्रमा ३ खर्ब ३ अर्ब ८३ करोड ३७ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् ।

आवासीय प्रयोजनका लागि घर किन्न वा आवास निर्माणका लागि जग्गा खरिदका लागि प्रवाह हुने १ करोड ५० लाख रुपैयाँसम्मको ऋणलाई रियल स्टेटमा गणना गर्न नपर्ने सुविधा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।

यसका आधारमा गत आर्थिक वर्ष रियल स्टेट कर्जा अन्तर्गत १ करोड ५० लाख रुपैयाँसम्म व्यक्तिगत कर्जामा १ खर्ब १७ अर्ब १८ करोड ७० लाख ३० हजार रुपैयाँ र सोभन्दा माथि हाउजिङका लागि १ खर्ब ८६ अर्ब ६५ करोड ६५ हजार रुपैयाँ वाणिज्य बैंकहरुले कर्जा लगानी गरेका हुन् ।

आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म ३ वटा वाणिज्य बैंकले २० अर्बदेखि ३० अर्व रुपैयाँसम्म लगानी गरेका छन् । जसमा एनआइसी एशिया बैंकले २८ अर्ब रुपैयाँ, एभरेष्ट बैंकले २२ अर्ब रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले २१ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेका हुन् ।

गत आर्थिक वर्षमा रियल स्टेटको क्षेत्रमा सबैभन्दा बढी एनआईसी एशिया बैंकले कर्जा प्रवाह गरेको छ । बैंकले उक्त अवधिमा २८ अर्ब ४८ करोड २० लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको हो । जसमा हाउजिङमा १८ अर्ब २ करोड १० लाख ६२ हजार रुपैयाँ र व्यक्तिगत आवास तथा जग्गा खरिदमा १० अर्ब ४६ करोड ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यस्तै गत वर्ष रियल स्टेट क्षेत्रमा बढी लगानी गर्नेे दोस्रो नम्बरमा एभरेष्ट बैंक छ । बैंकले हाउजिङ तथा प्लटिङमा १८ अर्ब ४८ करोड ८० लाख ६९ हजार रुपैयाँ र व्यक्तिगत आवस निर्माण तथा घडेरी खरिदमा ४ अर्ब ३० लाख १६ हजार रुपैयाँ गरी जम्मा २२ अर्ब ४९ करोड १० लाख ८५ हजार कर्जा लगानी गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले पनि गत आर्थिक वर्षमा २१ अर्बभन्दा बढी रियल स्टेटको क्षेत्रमा कर्जा लगानी गरेको छ । बैंकले १२ अर्ब ७७ करोड ३० लाख ८५ हजार रुपैयाँ प्लटिङ तथा हाउजिङमा र ४ अर्ब ९५ करोड ३० लाख २५ हजार रुपैयाँ गरी जम्मा २१ अर्ब ३६ करोड ३० लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्ममा १० अर्बभन्दा बढी र २० अर्बभन्दा कम रियल स्टेको क्षेत्रमा लगानी गर्ने १० वटा वाणिज्य बैंक छन् ।

जसमा ग्लोवल आईएमई बैंकले १५ अर्ब ११ करोड १० लाख ७६ हजार रुपैयाँ, नविल बैंकले १५ अर्ब २ करोड ३० लाख ६० हजार रुपैयाँ, प्रभु बैंकले १३ अर्ब ७७ करोड ४० लाख रुपैयाँ, सनराइज बैंकले १२ अर्ब ८२ करोड ८० लाख ८५ हजार रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १२ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ, एनएमबि बैंकले १२ अर्ब ४६ करोड १ लाख ५१ हजार रुपैयाँ, सिद्धार्थ बैंकले १२ अर्ब २२ करोड १० लाख ३५ हजार रुपैयाँ, मेगा बैंकले ११ अर्ब २९ करोड १० लाख ४६ हजार रुपैयाँ, सिटिजन बैंकले १० अर्ब ५७ करोड ४० लाख ४९ हजार रुपैयाँ र सानिमा बैंकले १० अर्ब ६ करोड ९० लाख ९५ हजार रुपैयाँ रियल स्टेटको क्षेत्रमा कर्जा लगानी गरेका छन् ।

यसैगरी १० अर्बभन्दा कम रियल स्टेटको क्षेत्रमा कर्जा लगानी गर्ने १५ वटा वाणिज्य बैंक छन् । जसमा माछापुछ्रे बैंकले ९ अर्ब ६० करोड १० लाख ३० हजार रुपैयाँ, प्राइम बैंकले ९ अर्ब ४४ करोड ९० लाख ६४ हजार रुपैयाँ, नेपाल बैंकले ८ अर्ब ९० करोड रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, हिमालय बैंकले ८ अर्ब १ करोड ७३ हजार रुपैयाँ, सेञ्चुरी बैंकले ७ अर्ब ५१ करोड ४० लाख ४८ हजार रुपैयाँ, बैंक अफ काठमाडौंले ७ अर्ब २५ करोड ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस्तै, लक्ष्मी बैंकले ६ अर्ब ८८ करोड ८० लाख ९७ हजार रुपैयाँ, कुमारी बैंकले ६ अर्ब ८१ करोड २० लाख २३ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकले ६ अर्ब ७१ करोड ७० लाख ७ हजार रुपैयाँ, नेपाल बंगलादेश बैंकले ६ अर्ब ६२ करोड ७० लाख २९ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले ६ अर्ब २९ करोड २० लाख ५७ हजार रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, १० अर्ब रुपैयाँभन्दा कम लगानी गर्ने अन्य बैंकमा कृषि विकास बैंकले ६ अर्ब ६ करोड २० लाख १० हजार रुपैयाँ, जनता बैंक नेपालले ५ अर्ब १६ करोड २० लाख ५५ हजार रुपैयाँ र सिभिल बैंकले ४ अर्ब ७९ करोड २० लाख १७ हजार रुपैयाँ रियल स्टेटको क्षेत्रमा कर्जा लगानी गरेका हुन् ।


क्लिकमान्डु