नेप्सेका सीइओ साउद भन्छन्- कालोधन सकिएपछि सेयर बजार घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सेयर बजारमा कालोधन सकिएर बजार पारदर्शी भएका कारण नेप्से सूचक घटेको बताएका छन् ।

‘एउटै सेयर लगानीकर्ताहरुको ५० वटाभन्दा बढी अलग-अलग कारोबार देखियो, अनलाइनमा त ५० वटा कारोबार एकै ठाँउमा आउँछ, बजारमा ह्वाईट मनिको मात्र कारोबार भएको र कालोधन बजारमा आउन नसकेको कारणले बजार घटेको हो,’ साउदले भने ।

नेपाल आर्थिक प्रत्रकार संघ (नाफिज) को १०औँ वार्षिक साधारणसभामा साउद यस्तो बताएका हुन् ।।

उनले अनलाइन सिस्टमले गर्दा पनि हाल सेयर बजार ओरालो लागेको बताउँदै अनलाइन ट्रेडिङ्ग सिस्टममा सबै लगानीकर्ताहरु आबद्ध भएपछि यो क्रम न्यून हुने उनको तर्क छ ।

कार्यक्रममा साउदले सेयर बजारमा देखिएका सम्पुर्ण समस्याहरु समाधान भइसकेको र लगानीकर्ताहरुको मनोबलका कारण बजार घटेको बताए । उनले सेयर बजारमा कुनै पनि प्राविधिक समस्या नभएको पनि जानकारी गराए ।

‘जहिले पनि बजार घट्यो भन्छन्, हामीसँग जादुको छडी छ र बजार बढाउँनलाई ? बजार घट्ने र बढ्ने भनेको लगानीकर्ताको हातमा हुन्छ । हामी त माध्यम मात्रै हौँ,’ साउदले भने, ‘सेयर बजार घट्दा नेप्सेलाई वा अन्य नियामक निकायलाई दोष लगाउने काम बन्द गरिनुपर्छ ।’

कार्यक्रममा साउदले सेयर सरोकारवालाहरुले अन्तर्राष्ट्रिय स्तरको अनलाइन सिस्टम नेपालमा नेप्सेले ल्याउन चर्चा गरेर हिँडेको प्रति आक्रोश व्यक्त गरे ।

‘आजको दिनमा अनलाइन चलाउन नसकेर १२ बजाउने लगानीकर्ताहरुलाई अन्तर्राष्ट्रियस्तरको प्रविधि एडजस्ट गर्न सक्दैनन्,’ उनले भने ।

कार्यक्रममा नेपाल सेयर ब्रोकर एसोशिएसनका अध्यक्ष भरत रानाभाटले सेयर बजारमा भएका कानूनी समस्याहरु नियामक निकायले समाधान गरेको भए सेयर लगानीकर्ताहरुको मनोबल नगिर्ने बताए ।

उनले सरकार तथा अर्थमन्त्रीलाई सेयर लगानीकर्ताहरुको मनोबल उच्च बनाउन बजार घटेको समयमा नागरिक लगानी कोष र कर्मचारी संचयकोषलाई डाउन पेमेन्टमा माध्यमबाट सेयर खरिद गर्न लगाउनु पर्ने बताए ।

हाल छिमेकी मुलुक भारतमा सरकारले नै सेयर बजारमा गिरावट आउँदा बीमा कम्पनीहरुलाई डाउन पेमेन्टको माध्यमबाट सेयर खरिद गरी लगानीकर्ताहरुलाई बजारमा ह्रास आएको महसुस नै नगराई मनोबल घट्न नदिएको रानाभाटले बताए ।


पुष्प दुलाल