यो वर्ष बैंकका कर्मचारीलाई ९ अर्ब रुपैयाँ बोनस, तलब पनि बढ्यो



काठमाडौं । यो वर्ष बैंकका कर्मचारीहरुले करिब ९ अर्ब रुपैयाँ बोनस पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी बोनसका लागि ८ अर्ब ८७ करोड ७० लाख रुपैयाँ छुट्याएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कर्मचारीहरुका लागि उक्त रकम बोनसका लागि छुट्याएका हुन् । छुट्याइएको बोनस रकम गत आर्थिक वर्षको भन्दा ८७ करोड ५० हजार रुपैयाँले बढी हो ।

बैंकका कर्मचारीलाई औसतमा ४ महिनाको बोनस, प्राइमका कर्मचारीले ८ महिनाको पाउने (सूचिसहित)

आर्थिक वर्ष २०७५/७६ मा बकैहरुले ७ अर्ब ९८ करोड २० हजार रुपैयाँ कर्मचारीहरुलाई बोनस बाँडेका थिए । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले कर्मचारीहरुलाई ६ अर्ब ६५ करोड ७० लाख रुपैयाँ र आर्थिक बर्ष २०७३/७४ मा ५ अर्ब ८५ करोड २० लाख रुपैयाँ बोनस बाँडेका थिए ।

हाल सञ्चालनमा नेपालमा लघुवित्त संस्थाहरुदेखि बाहेक ९० वटा बैंक वित्तीय संस्थाहरुमा ५० हजारको हाराहारीमा कर्मचारीहरु कार्यरत छन् ।

जसमध्ये २८ वटा वाणिज्य बैंकमा करिब ४० हजार, २९ वटा विकास बैंकमा करिब ९ हजार र ३३ वटा फाइनान्स कम्पनीहरुमा साढे १७ सय जना कर्मचारी कार्यरत छन् ।

यी कर्मचारीहरुले बैंकहरुले गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले कमाएको नाफाबाट बोनस पाउने भएका हुन् । औसतमा बैंकमा कार्यरत १ जना कर्मचारीले यो वर्ष १ लाख ७५ हजार रुपैयाँ बोनस पाउने देखिन्छ । तर, संस्थाको आफ्नो स्ट्रेन्थ र कार्यरत कर्मचारीहरुको पद अनुसार यो भन्दा बढी र कम बोनस पाउने छन् ।

तलब पनि बढ्यो

यसैगरी, गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले ३९ अर्ब ३१ करोड २० लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ७ अर्ब ८४ करोड रुपैयाँ बढी हो ।

आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्त कम्पनीहरुले ३१ अर्ब ४७ करोड २० लाख रुपैयाँ कर्मचारीहरुको तलब भत्तामा खर्च गरेको थिए भने आर्थिक वर्ष २०७३/७४ मा २६ अर्ब ६२ करोड ७० लाख रुपैयाँ र आर्थिक वर्ष २०७२/७३ मा २२ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कर्मचारीहरुलाई तलब भत्तामा खर्च गरेको राष्ट्र बैंकले जनाएको छ ।

आकर्षक सेवा सुविधाका साथै राम्रो बोनस पाउने भएकाले बैंकको जागिरमा आकर्षण बढ्दो छ ।


पुष्प दुलाल