बैंकका कर्मचारीलाई औसतमा ४ महिनाको बोनस, प्राइमका कर्मचारीले ८ महिनाको पाउने (सूचिसहित)



काठमाडौं । गत वर्षको नाफाबाट कर्मचारीलाई सबैभन्दा बढी बोनस दिनेमा पाइम बैंक देखिएको छ ।

कर्मचारीको तलबमा सबैभन्दा कम खर्च गर्ने प्राइम बैंक हो । कर्मचारीलाई नाफाको आधारमा धेरै बोनस खुवाउने पनि प्राइम बैंक हो ।

बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार प्राइम बैंकले कर्मचारीलाई गतवर्ष ५२ करोड २६ लाख ३५ हजार रुपैयाँ तलबमा खर्च गरेको छ । जबकी उसले कर्मचारीलाई बोनस वापत छुट्याएको रकम ३६ करोड ३६ लाख ८६ हजार रुपैयाँ छ । यस हिसाबले प्राइम बैंकमा कार्यरत कर्मचारीले गतवर्षको नाफाबाट बोनस वापत यो वर्ष ८ महिना १० दिनको तलब कर्मचारीलाई बोनस वापत खुवाउने छ ।

तलब खर्च कम भएपनि प्राइम बैंकका कर्मचारीले २० महिनाको तलब बुझ्ने देखिन्छ ।

ग्लोबल आइएमइ बैंकका कर्मचारीको तलब १५.३१ प्रतिशतसम्मले बढ्यो

कर्मचारीलाई बढी बोनस दिनेमा प्राइम बैंकपछि स्टाण्डर्ड चार्टर्ड बैंक छ । चार्टर्डको कर्मचारी कम भएपनि तलब भने निकै नै आकर्षक छ । चार्टर्डले गत वर्ष कर्मचारीको लागि ६९ करोड ६७ हजार रुपैयाँ खर्च गरेको छ ।

कर्मचारीको तलबमा कम खर्च गर्नेमा दोस्रोमा चार्टर्ड बैंक आउँछ । तर, चाटर्डले गतवर्षको नाफाबाट कर्मचारीलाई ६ महिना २० दिन बराबरको तलब बोनसको रुपमा खुवाउने छ ।

कर्मचारीलाई बढी बोनस दिनेमा नेपाल इन्भेष्टमेन्ट बैंक तेस्रो नम्बरमा छ । बैंकले गतवर्ष कर्मचारीको लागि तलबमा १ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ । बैंकका सेयरधनीलाई गतवर्षको नाफाबाट १० प्रतिशत लाभांश बुझ्न कठिन भएपनि कर्मचारीले भने करिब ६ महिनाको तलब बोनस वापत प्राप्त गर्ने छन् ।

वाणिज्य बैंकहरुमा गतवर्षको नाफाबाट सेयरधनीलाई सबैभन्दा बढी लाभांश दिने क्षमता राख्ने नबिल बैंकले कर्मचारीलाई ५ महिना २१ दिन बराबरको तलब बोनस वापत खुवाउने छ ।

नबिलले गतवर्ष कर्मचारीको तलबको लागि १ अर्ब ४१ करोड रुपैयाँ खर्च गरेको थियो । यस्तै सानिमा बैंकले कर्मचारीलाई गतवर्षको नाफाबाट ५ महिना ५ दिन बराबरको तलब बोनसको रुपमा दिने छ ।

एभरेष्ट बैंक पनि कर्मचारीलाई गतवर्षको नाफाबाट ५ महिना ४ दिन बराबरको तलब बोनस वापत दिने छ । हिमालयन बैंकबाट कर्मचारीले गतवर्षको नाफाबाट ४ महिना २२ दिन बराबरको तलब बोनस वापत प्राप्त गर्ने छन् ।

ग्लोबल आइएमई बैंकले कर्मचारीलाई गतवर्षको नाफाबाट ४ महिना २० दिन बराबरको तलब बोनस वापत खुवाउने छ ।
बैंक अफ काण्ठमाण्डूका कर्मचारीले गतवर्षको नाफाबाट ४ महिना १२ दिनको तलब बोनस वापत प्राप्त गर्ने छन् ।

नेपाल बंगलादेश बैंकका कर्मचारीले ४ महिना ५ दिन बराबरको तलब बोनस अन्तर्गत लिने छन् । एनएमबि बैंकका कर्मचारीले ४ महिना ४ दिन बराबरको तलब बोनस अन्तर्गत पाउने छन् ।

सनराइज, राष्ट्रिय वाणिज्य बैंक तथा लक्ष्मी बैंकका कर्मचारीले ४ महिना बराबरको तलब गतवर्षको नाफाबाट बोनस अन्तर्गत प्राप्त गर्न सक्नेछन् ।

कर्मचारीको तलबमा सबैभन्दा बढी खर्च गर्ने बैंकमा पूर्णसरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक पर्छ । वाणिज्य बैंकले २ अर्ब ३३ करोड रुपैयाँ कर्मचारीको तलबमा खर्च गरेको थियो ।

सिटिजन्स बैंकका कर्मचारीले ३ महिना २७ दिनको तलब गतवर्षको नाफाबाट बोनस अन्तर्गत पाउने छन् ।

नेपाल बैंकका कर्मचारीले ३ महिना २५ दिनको तलब बोनसको रुपमा प्राप्त गर्ने छन् । मेगा बैंकका कर्मचारीले ३ महिना १८ दिनको तलब बोनस अन्तर्गत प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकका कर्मचारीले गतवर्षको नाफाबाट ३ महिना १४ दिन बराबरको तलब बोनस अन्तर्गत प्राप्त गर्न सक्ने देखिएको छ ।

नेपाल एसबिआई बैंकले ३ महिना १३ दिन बराबरको तलब बोनस अन्तर्गत दिने छ ।  कृषि विकास बैंकले ३ महिना १३ दिन बराबरको तलब बोनस अन्तर्गत खुवाउन सक्ने देखिन्छ ।

सिदार्थ बैंकले कर्मचारीलाई ३ महिना १० दिन बराबरको तलब बोनस अन्तर्गत दिन सक्ने छ । कुमारी बैंकले ३ महिना ६ दिनको तथा एनआईसी एशियाका कर्मचारीले ३ महिना बराबरको तलब बोनस अन्तर्गत प्राप्त गर्न सक्नेछन् ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले ३ महिना २६ दिन, जनताले २ महिना १७ दिन, प्रभुले २ महिना १२ दिनको तलब कर्मचारीलाई बोनस अन्तर्गत दिन सक्नेछन् ।

सिभिल बैंकले २ महिना ७ दिन तथा सेञ्चुरी बैंकले २ महिना ५ दिनको तलब बराबरको रकम बोनसको रुपमा खुवाउन सक्छन् ।
औसतमा बैंकमा काम गर्ने कर्मचारीले ४ महिना बराबरको तलब बोनस अन्तर्गत पाउने छन् ।

नोटः लेखापरिक्षण हुँदा यो विवरण फरक पर्नसक्छ ।


क्लिकमान्डु