ग्लोबल आइएमइ बैंकका कर्मचारीको तलब १५.३१ प्रतिशतसम्मले बढ्यो



काठमाडौं । ग्लोबल आइएमइ बैंकका कर्मचारीको तलब बढेको छ । सोमबार बैंकले कर्मचारीहरुलाई इमेल पठाउँदै तलब बढेको जानकारी गराएको हो ।

तल्लो तहका कर्मचारीको तलब १५.३१ प्रतिशतसम्मले र उच्च व्यवस्थापनको तलब ६ प्रतिशतले बढेको हो । कर्मचारीहरुले साउन १ गतेदेखिको बढेको तलब पाउने छन् ।

बैंकका कर्मचारीलाई औसतमा ४ महिनाको बोनस, प्राइमका कर्मचारीले ८ महिनाको पाउने (सूचिसहित)

‘तल्लो तहका कर्मचारीको तलब १५.३१ प्रतिशतसम्मले र उच्च व्यवस्थापनको तलब ६ प्रतिशतले बढेको छ,’ निमित्त प्रमुख कार्यकारी अधिकृत महेश ढकालले क्लिकमाण्डूसँग भने, ‘औषतमा बैंकका कर्मचारीको तलब १३ प्रतिशतले बढेको छ ।’

बैंकमा १७०० जना कर्मचारी कार्यरत छन् । तलब बढाउँदा १८ करोड रुपैयाँको आर्थिक दायित्व थपिएको सीइओ ढकालले जानकारी दिए । गत वर्ष बैंकले कर्मचारीको तलब तथा सेवा/सुविधामा १ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको थियो ।

बैंकका कर्मचारीले यो वर्ष तलबबाहेक कर्मचारीलाई थप ४ महिनाको तलब बापतको बोनस पाउने छन् ।

बैंकमा काम गर्ने तल्लो तहका कर्मचारीको तलब मासिक २० हजार रुपैयाँ रहेको सीइओ ढकालले बताए । बैंकले गत वर्ष तल्लो तहका कर्मचारीको तलब बढाए पनि उच्च व्यवस्थापनको तलब बढाएको थिएन ।

तलब र बोनस पाउने भएकाले बैंकको जागिरमा ठूलो आकर्षण छ ।


पुष्प दुलाल