नेपाल बैंकको सीइओमा १४ जनाको आवेदनः कस्ले मार्ला बाजी ?



काठमाडौं । नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृत को पद (सीइओ) का लागि १४ जनाले आवदेश दिएका छन् ।

लामो समयसम्म रिक्त रहेको सीइओ पदका लागि बैंकले गत साउन १४ गते सूचना जारी गर्दै आवेदन खुलाएको थियो । ३ लाख रुपैयाँ तलब तोकिएको बैंकको सीइओ पदका लागि १ महिलासहित १३ जनाले आवेदन दिएका हुन् ।

कार्यसम्पादनको आधारमा प्रोत्साहन र अन्य सुविधाहरु दिने बैंकका अध्यक्ष वासुदेव अधिकारीले बताए । आवेदकहरु मध्ये कसलाई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मा सुम्पिने भन्नेबारेमा अझै पनि निश्चिय नभएको उनले जानकारी दिए ।

‘सीइओ नियुक्तीका लागि बैंकले छुट्टै कमिटी गठन गरि आवेदकहरुको योग्यता, क्षमता र अनुभवको आधारमा छनौट प्रक्रिया अघि बढाइएको र केही दिनमै बैंकले नयाँ सीइओ पाउने छ,’ अध्यक्ष अधिकारीले क्लिकमाण्डूसँग भने ।

गत चैतदेखि रिक्त रहेको बैंकको सीइओका लागि राष्ट्रिय वाणिज्य बैंकमा १०औं तहमा कार्यरत दुर्गाकुमारी कर्णेलसहित अन्य विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत तथा अनुभवी १३ जना पुरुषहरुले आवेदन दिएका हुन् ।

बैंकमा सीईओ बन्न राजुनाथ खनाल, अरुणकुमार ढुंगाना, रामदेव यादव, कृष्णवहादुर अधिकारी, मुरारीप्रसाद अर्याल, पूर्णप्रसाद आचार्य, सुन्दर पन्थी, पुष्पराज भण्डारी, गोविन्दप्रसाद दाहाल, शेषरमण आचार्य, अशोक खड्गी, शंकरकुमार रायमाझी र दिल्लीराम शर्माले आवेदन दिएका हुन् ।

सीईओका लागि न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन, बैकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने बैंकद्धारा सार्वजनिक आवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अनतराष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तमिा १० वर्षको कार्य अनुभव गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, कार्यकारी प्रमुखको नियुक्तीको सम्बन्धमा बैंकले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने समेत उल्लेख गरिएको छ ।

तत्कालीन सीइओ देवेन्द्र प्रताव शाहकोे कार्यकाल गत चैत ११ गते सकिएपछि बैंक सीइओबिहीन भएको थियो ।


पुष्प दुलाल