बुटिक विमानस्थलः यी ७ काम हुँदैछन् धमाधम




काठमाडौं । बुटिक विमानस्थल बनाउने योजना अन्तर्गत त्रिभुवन विमानस्थलमा अहिले काम तीव्र गतिमा भइरहेको छ ।

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षलाई लक्षित गरी सरकारले गत वर्ष नै बुटिक विमानस्थल बनाउने निर्णय गरेको थियो । जस अनुसार गत बैशाखमै सम्पन्न भइसक्नुपर्नेमा अवधि लम्बिए पनि अहिले धमाधम काम भइरहेको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रले दाबी गरेका छन् ।

उनका अनुसार विमानस्थलले २९ करोड रुपैयाँ बजेट अन्तर्गत अहिले ७ वटा कामलाई धमाधम सुरु गरेको छ ।

प्रमुख क्षेत्रीका अनुसार ७÷८ महिनाभित्रमा विमानस्थलमा आमूल परिवर्तन देखिनेछ । उनले भने, ‘काम सुरु भइसकेको छ, ८ महिनाभित्रमा विमानस्थलमा निकै परिवर्तन देख्नुहुनेछ ।’

उनका अनुसार ट्रमिनल बाहिर गाडी गुड्ने बाटोमध्ये सुरुको आधा दूरी अब बन्द गरिनेछ । सवारी साधनहरु आधा मात्रै बाटोबाट मोडिएर पार्किङमा प्रवेश गर्नेछन् ।

पश्चिममा रहेको अन्तर्राष्ट्रिय टर्मिनलको बाहिर एकतर्फीै रहेको (क्यानोपी) यात्रुकक्षको छानालाई दुबैतर्फबाट निर्माण गरिनेछ । जसले गर्दा झण्डै ५ मिटरबाटोलाई त्यसमा समाहित गरिनेछ ।

यात्रुका आफन्तहरुका लागि सहज होस् भन्ने उद्देश्यले व्यवस्थित वेटिङ रुम बनाइनेछ ।

सेक्यूरिटीका हिसाबले पनि चेकिङ सिस्टमलाई आधुनिक बनाइनेछ भने सरलिकृत पनि गरिनेछ ।

प्रमुख क्षेत्रका अनुसार हालसम्म ८० लाख रुपैयाँ बराबरको काम भइसकेको छ भने कामलाई तीव्रता दिइएको छ ।

यी ७ काम भइरहेका छन्

१) विमानस्थल बाहिर सिलिकन रंग लगाउने काम अर्को महिनासम्म पूरा भइसक्छ । यसका लागि अहिले काम पनि भइरहेको छ ।

२) विमानस्थलको भन्सारलगायतका ठाउँमा स-साना मूर्तीहरु राख्ने काम पनि सुरु भइसकेको छ । जसमा धर्म, परम्परा तथा संस्कृतिको झल्को आउने मूर्तीहरु राखिनेछन् ।

३) विमानस्थलमा काठका सामग्रीमा ‘वुड कार्भिङ’ गर्ने काम सुरुवाती चरणमा छ । नेपाली परम्परागत काठकलाको नमूना यसमा देख्न सकिन्छ ।

४) विमानस्थलभन्दा बाहिरको भागमा भएको गार्डेनलाई आधुनिक बनाइनेछ भने अन्तर्राािष्ट्रयदेखि आन्तरिक विमानस्थलसम्म जाने बाटोमा पनि बगैँचा बनाइनेछ । अहिले भएको बगैँचामा फाउन्टेन पनि नयाँ राखिनेछ । रातभरी बत्ति बाली झिलमिल पारिनेछ ।

५) अन्तर्राष्ट्रिय डिपार्चरका लागि १५ करोड खर्च गरी नयाँ ढंगले सजाउन थालिएको छ ।

६) आन्तरिक विमानस्थलमा लगेज क्रोउजल निर्माण सकिएको छ भने आन्तरिकतर्फ ३/४ महिनाभित्रमा सक्ने गरी थप निर्माणको काम भइरहेको छ ।

७) विमानस्थलभित्र बुद्धको ठूलो मूर्ती राख्नका लागि टेन्डर प्रक्रिया सकिएको छ । ७५ लाख रुपैयाँको लागतमा राख्न लागिएको मूर्ती ६ फिट अग्लो हुनेछ ।


क्लिकमान्डु