७० लाख लागतमा राजधानीमा चार्जिङ स्टेशन सञ्चालनमा, कति लाग्छ चार्ज गरेको पैसा ? (भिडियो)



काठमाडौं । सुन्दर यातायातले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । मंगलबार उर्जा तथा जलस्रोत मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले कालोपुलस्थित चार्जिङ स्टेसनको उदघाटन गरे ।

उक्त चार्जिङ स्टेसनबाट विद्युतीय गाडीहरु चार्ज गर्न सकिने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । विभिन्न कम्पनी र मोडलका विद्युतीय गाडीहरु चार्ज गर्न मिल्ने सिस्टमेटिक चार्जिङ स्टेसन स्थापना गरेको उनले जानकारी दिए ।

अहिलेलाई चार्जिङ स्टेसनबाट सुन्दर यातायातका मातहतका गाडी मात्रै चार्ज गरिनेछ । अन्य गाडी चार्ज गर्नका लागि सितापाइला र सुकेधारामा समेत चार्जिङ स्टेसन स्थापना गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । साथै सरकारले अनुमति दिएमा ७२ घण्टाभित्रै ती स्थानमा चार्जिङ स्टेशनहरु सञ्चालनमा ल्याउन सकिने अध्यक्ष थापाले दाबी गरे ।

सुन्दर यातायातले भदौ २३ गतेदेखि राजधानीमा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको छ । सुन्दर यातायातले सञ्चालनमा ल्याउन लागेको विद्युतीय बसहरु चक्रपथमा चल्ने छन् । कम्पनीले निकट भविष्यमा प्रदेश नम्बर १ र ५ मा पनि विद्युतीय गाडी सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

उक्त चार्जिङ स्टेसनबाट एउटा गाडी चार्ज गर्न औसत ६ घण्टा लाग्नेछ । तर गाडी चार्ज गरेको कति पैसा लाग्ने विषय भने सरकार र विद्युत प्राधिकरणसँगको छलफल गरीर मात्रै निर्धारण गरिने थापाले बताए । अहिलेको कुराकानीलाई आधार मान्दा एक युनिटको विद्युत प्राधिकरणलाई ४ रुपैयाँ २० पैसा तिर्नुपर्ने र ग्राहकसँग २० प्रतिशत फाइदा जोडेर चार्ज लिन सकिने सम्भावना रहेको समेत उनले बताए ।

सुन्दर यातायातले अहिले सञ्चालन गर्न लागेको चार्जिङ स्टेसनको लागत ७० लाख रुपैयाँ छ । एकपटक चार्ज गरेपछि सामान्यतया एउटा गाडी २६८ किलोमिटर गुड्न सक्ने जनाइएको छ ।

त्यसै गरी सरकार विद्युतीय गाडी सञ्चालनका लागि हस्तक्षेप योजना बनाएर अघि बढेको र सरकारको तर्फबाट सक्दो सहयोग रहने उर्जा सचिव दिनेश कुमार घिमिरेले बताए । चार्जिङ स्टेसनको उद्घाटन गर्दै उनले विद्युतीय गाडी वातावरणीय हिसाबले निकै महत्वपूर्ण रहने भएकाले सरकारले नीति परिवर्तन गरेरै भए पनि सहज वातावरण बनाइदिने स्पष्ट पारे ।

चार्जिङ स्टेशन कसरी सञ्चालन हुन्छ र कसरी काम गर्छ ? विस्तृत भिडियोमा हेर्नुहोस


क्लिकमान्डु