मेलम्चीको बाँकी काम पूरा गर्न सिनो हाइड्रोलाई दिने तयारी, स्थानीय भन्छन्- हाम्रो पैसा फिर्ता गर



काठमाडौं । इटालीको कम्पनी सिएमसीले बदमासी नगरेको भए यतिखेर काठमाडौंबासीले मेलम्ची उपत्यकाको पानी पिउन पाइसक्थे । काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या करिब-करिब समाधान भइसकेको हुने थियो ।

तर अनेकन बाहाना निकालेर सिएमसी नेपालबाट बाहिरियो । जसकाकारण गत पुसदेखि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना कहिले र कसरी पूरा हुनसक्छ भन्ने बारेमा आम मानिसलाई थाहा छैन । सरकारी निकायलाई नै थाहा नभएको कुरा आम नागरिकलाई थाहा हुने भएन ।

सिएमसीले धोका दिएपछि समस्यामा परेको आयोजनालाई नयाँस्वरुप दिन सरकारले मन्त्रिपरिषदबाटै निर्णय गर्यो । सरकारले भन्यो, मेलम्चीको काम अगाडि बढाउन अब ठेक्का प्रक्रिया टुक्रा गरिन्छ । सोही आधारमा नेपालीसहित केही महत्वपूर्ण काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई पनि जिम्मा दिने तयारी छ ।

सिनो हाइड्रो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा प्रभावकारी काम गरेको विश्वासिलो कम्पनी हो । नेपालमा अन्य चिनियाँ ठेकेदारहरु समस्यामा परेको बेला समेत सिनो हाइड्रोले तोकिएको समयमा आफ्नो काम पूरा गरेको छ । माथिल्लो तामाकोशीको भौतिक प्रगति ९८ प्रतिशत पुग्नुको पछाडि सोही ठेकेदार कम्पनीको पनि हात छ भनेर लेख्दा कुनै तल–बितल हुँदैन ।

सिएमसीले छाडेको काम अगाडि बढाउन खानेपानी मन्त्रालयले सिनो हाइड्रोलाई जिम्मा दिने अन्तिम तयारी भएपनि केही स्थानीयस्तरमा अवरोध जारी रहेको छ । सोही अवरोधका कारण आयोजना प्रभावकारी बन्नेमा आशंका बढ्दै गएको छ ।

सिएमसीले भुक्तानी गर्नुपर्ने रकम नयाँ आयो ठेकेदारले व्योहोनुप्र्ने जस्ता स्थानजीय ठेकेदार तथा भेन्डरका कारण आयोजना थप समस्यामा पर्ने संकेतहरु देखा परेको छ । यद्यपी खानेपानी मन्त्रालयले आयोजना प्रमुख तथा सम्वद्ध कर्मचारीलाई आयोजना स्थलमा नै गई समस्या समाधान गर्न र कुनै पनि अवरोध हुने वातावरण नै आउन नदिन सम्वद्ध कर्मचारीलाई निर्देशन दिएको छ ।

सीएमसीले अलपत्र छाडेको सुरुङ र हेडवर्क्सको बाँकी काम सम्पन्न गर्न मेलम्ची खानेपानी विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको छ । आयोजनाका अनुसार सो कम्पनीसँग कूल १ अर्ब ८७ करोड रुपैयाँमा ठेक्का सम्झौता गर्ने तयारी छ ।

आयोजनाले दिएको जानकारी अनुसार बाँध बनाउनका लागि १ अर्ब २ करोड र सुरुङको बाँकी कामका लागि ८५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिनेछ ।

स्थानीय ठेकेदारले समस्या उत्पन्न गर्ने थाहा पाएको सिनो हाइड्रोले काम जिम्मा लिनु पहिले नै स्थानीयस्तरमा रहेको समस्या समाधानका लागि आग्रह गरिसकेको छ । कार्यतालिका अनुसार सिनो हाइड्रोले काम थालेको १२ महिनाभित्र सुरुङ र १५ महिनामा बाँध बनाइसक्ने गरी जिम्मा दिन लागिएको सम्वद्ध अधिकारीहरु दावी गर्छन् ।

सम्झौता लगत्तै ठेकेदारले सरासर काम गरे २०७७ पुस ४ गते निर्माण सक्ने गरी लक्ष्य निर्धारण गरिएको खानेपानी मन्त्रालयले जानकारी दिएको छ ।

मेलम्चीको बाँकी काम गर्न नयाँ ठेक्का सम्झौताको तयारी भइरहँदा स्थानीय ठेकेदारले भने अवरोध गर्ने तयारी गरेका छन् । त्यसले आयोजना थप प्रभवित हुने सम्भावना पनि उत्तिकै रहेको छ । समस्या समाधानका लागि राजनीतिक नेतृत्वले नै पहल गर्नुपर्ने भन्दै मन्त्रालयले सिन्धुपाल्चोकका नेकपाका नेताहरुलाई पनि आग्रह गरेको बुझिएको छ ।

विगतमा सिएमसीसँग उधारोमा काम गरेको सामान आपूर्तिकर्ता तथा स्थानीय कामदारले करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको भुक्तानी लिन बाँकी रहेको छ ।

स्थानीयले सिएमसीबाट जफथ गरिएको रकमबाट आफूहरुको हिसाब किताब मिलाइदिन आग्रह गर्दै आएका छन् । तर त्यसरी हिसाब किताब मिलाउन कानूनीरुपमा अप्ठ्यारो पर्ने सम्वद्धहरुको भनाइ छ ।

सिएमसीबाट जफथ भएको रकम उपलब्ध गराउन व्यवहारिक रुपमा कुनै समस्या नभएपनि कानुनीरुपमा कसरी मिलाउने भन्नेमा समस्या रहेको सरकारी भनाइ छ । तर स्थानीय ठेकोदार तथा सामान आपूर्तिकर्ता भने आफूहरुको डुबेको रकम कसरी उठाउने भन्नेमा सरकारले कुनै न कुने निकास दिनै पर्ने अडानमा रहेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्चीमा देखिएको समस्या सामधान गरी राजधानीबासीलाई स्वच्छ पानी उपलब्ध गराउन अब पनि कुनै पनि वाहाना गर्न नपाइने सरोकारवालाहरुको भनाइ छ ।

त्यसो त आयोजनाले सीएमसीलाइ यसअघि नै रकम दिइसकेकाले दोहोरो भुक्तानी गर्न नसकिने पनि बताउँदै आएको छ ।

सरकारले ठेक्का तोडेपछि सरकारले जमानत वापत राखेको १ अर्ब २१ करोड र पर्फमेन्स सेक्युरिटी वापतको ८८ करोड गरी २ अर्ब ९ करोड रुपैयाँ जफत गरी सरकारी खातामा जम्मा गरेको छ ।


पुष्प दुलाल