‘अटो लोनको सीमा ९० प्रतिशत पुर्याउ’
काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एसोशिएसन (नाडा)का अध्यक्ष शम्भु दाहालले चालु आर्थिक वर्षको बजेटले सवारी साधनको स्पेयर्स पार्टमा बढाएको शूल्कले चित्त दुखेको बताएका छन् ।
मंगलबारबाट राजधानीमा सुरु भएको नाडा अटो शो को १४औं संस्करण उद्घाटनका क्रममा यस्तो बताए । बजेटमा धेरै कडाई नगरेको भए नेपालमा सक्कली पार्टपुर्जा आउने उनको तर्क छ ।
गत आर्थिक वर्षको १० महिनामा अटो क्षेत्रबाट ८४ अर्ब ४२ करोड राजश्व उठेको स्मरण गराउँदै दाहालले सरकारले एसेम्ब्लिङ प्लान्टमा सरकारले सहुलियत दिनु पर्ने बताए ।
राष्ट्र बैंकले अटो लोनमा ५० प्रतिशतको क्याप लगाएको असन्तुष्टि जनाउँदै उनले ९० प्रतिशत डाउन पेमेन्ट गर्न सक्ने व्यवस्था मिलाउन आग्रह गरे । सरकारले तत्काल भेहिकल फिटनेस सेन्टर स्थापना गर्न आवश्यक रहेको भन्दै यसमा ढिला नगर्न पनि आग्रह गरे ।
कार्यक्रममा नाडाका पूर्वअध्यक्षसमेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा अटो मोबाइल्स बढनु भनेको आर्थिक प्रगतिको सूचनक भएको तर्क गरे ।
‘जुन देशमा आर्थिक क्रियाकलाप बढ्छन्, त्यहाँ अटो मोबाइलको खपत बढ्छ, अटोबोमाइलको खपत बढेपछि सवारी जाम हुनु सामान्य हो, जहाँ आर्थिक गतिविधि नै हुँदैन कसरी अटो मोबाइलको खपत हुन्छ ?,’ गोल्छाले प्रश्न गरे ।
अहिले राजश्वमा अटो मोबाइलको योगदान ४० प्रतिशत रहेकोमा आगामी दिनमा अटो मोबाइल फस्टाएको खण्डमा राजश्व बढने उनको तर्क छ ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ अन्तर्गतको वस्तुगत संघका अध्यक्ष उमेशलाल श्रेष्ठले अब गाडीको आयात कम गरेर नेपालमा नै एसेम्ब्लिङ गर्नुपर्ने बताए ।
उनले हिजोको समयमा कारलाई विलासी साधनको रुपमा लिने गरेपनि अहिले गाँउ गाँउमा यसको उपभोग बढन थालेको बताए । उनले भने ‘अब हामीले कार धेरै आयात गर्नु हुँदैन, बरु नेपालमा नै एसेम्लीङ गरौं ।’
उनले मोटर बाइकको बढी भएको देश भियतनामको उदाहरण दिँदै भने ‘भियतनाममा जम्मा २ वटा मोटर बाइक कम्पनी रहेका छन्, नेपालमा पनि किन धेरै चाहियो अब यता पनि सोचौंन, यसले आयात प्रतिस्थापनमा पनि राम्रो योगदान गर्छ ।’
कार्यक्रममा नाडा अटो शोका संयोजक निराकार श्रेष्ठले शोमा ४ पाङग्रे सवारी साधनको २३ र दुई पाङग्रे सवारी साधनको १९ सहित ९५ कम्पनीको १६० वटा ब्लक रहेको बताए । जसमा बैंकका साथै सवारी साधनको पार्ट पुर्जाका पनि स्टल रहेका छन् । नाडा अटो शो १५ गतेसम्म सञ्चालन हुने छ ।