यातायात विभागको महानिर्देशकमा हमाल नियुक्त, भने- २ सातामा लाइसेन्स पाउने व्यवस्था मिलाउँछु




काठमाडौं । यातायात विभागमा ईञ्जिनियर गोगन बहादुर हमाल नियुक्त भएका छन् । सोमबार हमालले विभागमा पदभार ग्रहण गरेका छन् ।

यसअघि महानिर्देशक रहेका कुमारप्रसाद दहाल सूचना आयोगमा सरुवा भएपछि उक्त पद रिक्त थियो ।

सोमबार पद ग्रहण गरेपछि क्लिकमाण्डूसँग कुरा गर्दै हमालले आफूले स्मार्ट लाइसेन्सको समस्यालाई समाधान गर्ने बताए ।

उनले भने, ‘अहिले जुन स्मार्ट लाइसेन्स लिन महिनौं कुर्ने समस्या छ त्यसलाई समाधान गर्छौ र २ सातामै लाइसेन्स लिने पाउने गरी काम गर्छौं ।’

अहिले स्मार्ट लाइसेन्स प्रिन्ट गर्नका लागि मासप्रिन्टर आइसकेको र १० दिन जतिपछि छपाइ सुरु हुने हमालले जानकारी दिए ।

उनले यातायात व्यवस्था ऐन संशोधन, सवारी परीक्षणका लागि ७ वटै प्रदेशमा व्यवस्थ गरिने समेत बताए ।

यसअघि २०७३ साल फागुन २१ गते महानिर्देशकमा रुपनारायण भट्टराई नियुक्त भएका थिए ।

उनी २०७५ जेठ ११ गते सरुवा भएका थिए । त्यसयता हमालसँगै ४ जना महानिर्देशक भइसकेका छन् ।

भट्टराई सरुवा भएपछि प्रेम कुमार सिंहले कामूका रुपमा २ महिना काम गरेका थिए ।

गत वर्षको साउन १४ गते लावण्यकुमार ढकाल महानिर्देशक भएर आए पनि फागुन २१ गते सरुवा भएका थिए ।

ढकाल सरूवा भएपछि कुमारप्रसाद दहाल फागुन २७ गते महानिर्देशकमा नियुक्त भएका थिए ।

उनी गत साउनको तेस्रो साता सरूवा भएका थिए ।


क्लिकमान्डु