पर्यटनमन्त्री भट्टराईले भने- भूगोलका कारण आकाशमा धेरै बेर ‘प्लेन होल्ड’ हुन्छ



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले आकाशमा ‘प्लेन होल्ड’ हुने विषयमा आफू गम्भीर भएको भन्दै उक्त समस्यालाई समाधानका लागि सक्दो प्रयास गर्ने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यो प्राविधिक विषय भएको भन्दै यसको कारण बुझ्नु पर्ने बताए ।

उनले भने, ‘यो भूगोलका कारण पनि हुन्छ, काठमाडौं पहाडले घेरिएको हुनाले पनि आकाशमा प्लेन धेरै बेर होल्ड हुने समस्या सिर्जना भएको छ ।’

उनका अनुसार सामान्यतयाः विमानले टेक अफ गरेको १ मिनेटमा भूगोल छाडिसक्छ । तर काठमाडौंको हकमा भने यो समय ३ मिनेट लाग्छ । त्यसकारणले विमान धेरै बेर आकाशमा होल्ड भएको हो ।

उनका अनुसार विमानले काठमाडौंलाई एक चक्कर लगाएर मात्रै भूगोल छाड्ने भएकाले आकाशमा प्लेन धेरै बेर होल्ड हुने एउटा कारण पनि हो ।

त्यस्तै, भीआईपी मुभमेन्टको समयमा पनि आकाशमा ट्राफिक जाम हुने विषयमा आफू पनि जानकार रहेको भन्दै उनले भने, ‘सामान्यतयाः स्टेट भिजिटको समयमा केही गाह्रो हुन्छ नै तर अन्य भ्रमणको समयमा भने खासै ट्राफिक जाम हुँदैन ।’

‘अस्ती मात्रै प्रधानमन्त्री विदेश गएर आउनु भयो, उपचारका लागि जानु भएको थियो, स्टेट भिजिट नभएकाले त्यस्तो समस्या भएन, तै पनि यो समस्यालाई न्यूनिकरण गर्नका लागि हामी लागिरहेका छौं ।’

स्टेट भिजिटका समयमा नागरिक उड्ययन प्राधिकरणले नोटम जारी गरेको हुन्छ । यसमा सेक्युरिटीको कुरा पनि हुन्छ ।

साथै आन्तरिक उडान र हेलिकप्टरहरु पनि त्यहीँबाट उडान र अवतरण हुने भएकाले अन्तर्राष्ट्रिय विमानहरुको लागि समस्या भएको हो । तर यसलाई सक्दो कम भने गर्नु उनले बताए ।

त्यस्तै, नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विमानस्थलका कर्मचारीहरुलाई शिष्टता तालिम दिने बताए । भट्टराईका अनुसार पर्यटकहरुसँग कसरी बोल्ने, व्यवहारिक ज्ञानदेखि सकारात्मक सोचबारे तालिम दिइनेछ ।

उनले भने, ‘पर्यटकसँग गरिने व्यवहार राम्रो होस भन्नका लागि हामीले तालिम दिनेछौं, यसका लागि तयारी भइरहेको छ ।’

उनका अनुसार एउटा कक्षामा ५० देखि ६० जनालाई एकै साथ उक्त तालिम दिइनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाइरहेको अवस्थामा व्यवहारमा समेत परिवर्तन आउनुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु