राष्ट्र बैंकको निर्देशनमा डेभ्लपमेन्ट बैंकर्स एशोसिएशनका ३ असन्तुष्टि, पुनर्बिचार गर्न आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्न भन्दै गत सोमबार जारी गरेको निर्देशनको विषयलाई लिएर विकास बैंकहरुको छाता संगठन डेभ्लपमेन्ट बैंकर्स एशोसिएशनले ३ वटा विषयमा असन्तुष्टि जनाएको छ ।
एशोसिएशनको शुक्रबार बसेको बैठकले राष्ट्र बैंकको निर्देशन पुनरावलोकन गर्न आग्रह गर्ने निर्णय गरेको अध्यक्ष गोबिन्द ढकालले बताए ।
राष्ट्र बैंकले १५ लाख रुपैयाँसम्मको कर्जामा कुनैपनि प्रकारको सेवाशूल्क लिन नपाइने निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति विकास बैंकको ठूलो गुनासो छ ।
‘१५ लाख रुपैयाँसम्मको कर्जामा सेवाशूल्क लिन नपाउने व्यवस्थाले राष्ट्रियस्तरका विकास बैंकहरुको आम्दानी प्रतिबैंक ८/१० करोड रुपैयाँले घट्ने देखिन्छ,’ अध्यक्ष ढकालले क्लिकमाण्डूसँग भने, ‘क्षेत्रीयस्तरका र जिल्लास्तरका बैंकहरुको त अधिकांश कर्जा १५ लाखसम्मको हुने भएकाले ती बैंकलाई टिक्नै कठिन हुने भएकाले पुनर्बिचार गर्न राष्ट्र बैंकसमक्ष आग्रह गर्ने निर्णय गरेका छौं ।’
त्यसैगरी, स्प्रेडको नयाँ गणनाविधिले विकास बैंकहरुको अर्बौं आम्दानी घट्ने निष्कर्श निकाल्दै यो व्यवस्थामा पनि पूनरावलोकन गर्दै पूरानै गणनाविधि कार्यान्वयन गर्न आग्रह गर्ने निर्णय भएको ढकालले जानकारी दिए ।
बैंकासुरेन्सलाई बन्द गराउनुभन्दा पनि व्यवस्थित गराएर अघि बढ्नुपर्ने संघको सुझाब छ ।
‘बैंककासुरेन्सलाई व्यवस्थित गर्दै ग्राहकहरुले स्वखुसीले बैंकासुरेन्स गर्न पाउने व्यवस्था हुनुपर्ने सुझाब दिएका छौं,’ ढकालले भने ।
राष्ट्र बैंकले यी विषयमा पुनरावलोकन नगरेको अवस्थामा बैंक चलाउन नसकिने धारणा बैठकमा उपस्थित अधिकांश सीइओहरुले राखेका थिए । संघको बैठक साढे ११ बजेदेखि साढे १ बजेसम्म बसेको थियो ।