एक्सनमा नवनियुक्त पर्यटन मन्त्री, क्यानसँगको ब्रिफिङमा दिए यी कुरामा चासो



काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारीसँग ब्रिफिङ गरेका छन् ।

सोमबार दिउँसो मन्त्री भट्टराईले सवा घण्टा ब्रिफिङ गरेका थिए ।

क्यानका महानिर्देशक राजन पोखरेलका अनुसार निर्माणाधिन निजगढ विमानस्थल निर्माणमा भइरहेको ढिलासुस्तीबारे चासो दिएका थिए ।

पोखरेलले भने, ‘मन्त्रीज्यूसँग ब्रिफिङ गर्र्यौ, निजगढ विमानस्थलसँगै भैरहवाको गौतम बुद्ध विमानस्थल यथाशक्य छिटो सञ्चालन गर्न र पोखरा विमानस्थलको काम अगाडि बढाउने विषयमा विशेष चासो दिनु भयो ।’

उनका अनुसार मन्त्री भट्टराईले यूरोपियन युनियनको कालोसूचीबाट हटाउने विषयमा पनि आफूले नीतिगत समस्या समाधानका लागि प्राथमिकताका साथ काम गर्ने बताएका थिए ।

पोखरेलले भने, ‘क्यान र यसले गरेका कामबारे मैले ४५ मिनेट ब्रिफिङ गरे, उहाँले विमानस्थल निर्माण तथा सञ्चालनसँगै ईयूको कालोसूचीबाट हटाउने विषयमा प्राथमिकताका साथ काम गर्न निर्देशन दिनु भएको छ ।’

क्यानलाई सेवा प्रदायक र नियामकमा विभाजन गर्ने प्रक्रिया अगाडि बढिसकेकाले त्यसतर्फ काम गर्न पनि भट्टराईले चासो व्यक्त गरेका थिए ।

क्यानलाई टुक्राउने विषयमा मन्त्रिपरिषद्को बैठकले नै यस सम्बन्धि संस्थाका लागि आवश्यक पर्ने छुट्टाछुट्टै ऐन बनाउन सैद्दान्तिक स्वीकृति दिएको थियो । यो स्वीकृतिसँगै प्राधिकरण विभाजनका लागि औपचारिक बाटो खुलेको थियो ।

यूरोपेली युनियनले नेपाली हवाई क्षेत्रलाई कालोसूचीमा राखेपछि सेवा प्रदायक र नियामक गरेर विभाजन गर्न बाध्य भएको थियो ।

सन् २०१३ मा ईयू र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले नेपाली हवाई क्षेत्रलाई कालोसूचीमा राखेको थियो । नेपालमा हवाई दुर्घटना बढ्दै गएपछि ईयूले कालोसूचीमा राखेको थियो ।

त्यसपछि ईयूले एउटै संस्थाले नियमन र सेवा दिन नमिल्ने भन्दै प्राधिकरण विभाजनको सर्त अगाडि तेर्साएको थियो ।

ईयूले कालोसूचीमा राखेपछि नेपाली विमानहरुलाई अन्तर्राष्ट्रिय उडानमा समस्या आएको छ ।


क्लिकमान्डु