सेबोनको संस्थागत सुशासन प्रतिवेदन, सुचिकृत संस्थाले पेश गर्नैपर्छ यी ६ विवरण



काठमाडौं । धितोपत्र बोर्डले संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदनको ढाँचा कार्यान्वयनमा ल्याएको छ ।

बोर्डले यस अघि सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बनाई २०७५ साउन १ गतेदेखि लागू गरेको थियो ।

उक्त निर्देशिकामा भएको व्यवस्था अनुसार सूचीकृत सङ्गठित सस्ंथाहरूको परिपालना अधिकृतले प्रतिवेदन तयार गरी बोर्डमा पेश गर्नुपर्ने व्यवस्था रहेकोले थियो ।

प्रतिवेदनको ढाँचामा एकरुपता ल्याउन बोर्डले संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदनको ढाँचा स्वीकृत गरी आ.ब. २०७५/७६ देखि बार्षिक प्रतिवेदनमा लागू गर्ने निर्णय गरेको छ ।

उक्त प्रतिवेदनमा सञ्चालक समिति, सञ्चालकको आचरण तथा अन्य विवरण, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली, सूचना तथा जानकारी प्रवाह, संस्थागत संरचना र कर्मचारी, संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धी विभिन्न व्यवस्था गरेको छ ।

सञ्चालक समिति सम्बन्धी विवरणमा संचालक समितिको अध्यक्ष र संचालकहरुको नाम तथा ठेगाना, लिएको सेयर संख्या, नियुक्त भएको मिति, प्रतिनिधित्व भएको समूह सम्बन्धी विवरण, संस्थाकोे सेयर संरचना (संस्थापक, सर्वसाधारण तथा अन्य) सम्बन्धी विवरण पेश गर्न निर्देशन दिएको छ ।

सञ्चालक समितिको बैठकमा सञ्चालक वा वैकल्पिक सञ्चालक उपस्थित भए÷नभएको, सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राखे÷नराखेको, सञ्चालक समितिको दुई लगातार बसेको बैठकको अधिकतम अन्तर, संचालक समितिको बैंठक भत्ता तथा खर्च सम्बन्धी विवरण सहित सञ्चालक समितिको बैठक संचालन सम्बन्धी विवरण पेश गर्न निर्देशन दिएको छ ।

यस्तै सञ्चालकको आचरण सम्बन्धी तथा अन्य विवरणमा सञ्चालकको आचरण सम्बन्धमा सम्बन्धित संस्थाको आचार संहिता भए÷नभएको, एकाघर परिवारको एक भन्दा बढी सञ्चालक भए सो सम्बन्धी विवरण तथा संचालकहरुको आचरण सम्बन्धी अन्य विवरण पेश गर्न निर्देशन दिएको छ ।

प्रत्येक सञ्चालकले आफू सञ्चालकको पदमा नियुक्त वा मनोनयन भएको १५ दिनभित्र संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको भए सोको विवरण, निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको सेयर वा डिबेन्चर सम्बन्धी विवरण, निज अन्य कुनै सङ्गठित संस्थाको आधारभूत सेयरधनी वा सञ्चालक रहेको भए सो विवरण, निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहको भए सो विवरणको लिखित जानकारी गराएको÷नगराएको र नगराएको भए सोको विवरण पेश गर्न निर्देशन दिएको छ ।

यस्तै बोर्डले संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरणका लागि जोखिम व्यवस्थापनको लागि कुनै समिति गठन भए÷नभएको, गठन नभएको भए सोको कारण, जोखिम व्यवस्थापन समितिको संरचना तथा कार्य सम्बन्धी विवरण माग गरेको छ ।

आन्तरिक नियन्त्रण कार्यविधि भए÷नभएको, आन्तरिक नियन्त्रण प्रणालीको लागि कुनै समिति गठन भए÷नभएको, गठन नभएको भए सोको कारण, आन्तरिक नियन्त्रण प्रणाली समितिको संरचना, समितिको बैठक संख्या तथा समितिको कार्य सम्बन्धी विवरण पेश गर्न निर्देशन दिएको छ ।

यस्तै बार्षिक तथा विशेष साधारण सभाको सूचना, बार्षिक तथा त्रैमासिक प्रतिवेदन मार्फत सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण, धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचना प्रवाह सम्बन्धी विवरण,पछिल्लो बार्षिक तथा विशेष साधारण सभाको विवरण पेश गर्न निर्देशन दिएको छ ।

कर्मचारीहरुको संरचना, पदपूर्ति, वृत्ति विकाश, तालिम, तलव, भत्ता तथा अन्य सुविधा, हाजिर र विदा, आचार संहिता लगायतका कुराहरु समेटिएको कर्मचारी सेवा शर्त विनियमावली व्यवस्था भए÷नभएको सम्बन्धी विवरण,संरचना अनुसार कर्मचारी पदपूर्ति गर्ने गरिएको÷नगरिएको, नयाँ कर्मचारीहरुको पदपूर्ति गर्दा अपनाएको प्रकृया, कर्मचारीहरुको सक्सेसन प्लान भए÷नभएको, कर्मचारीहरुलाई दिइएको तालिम संख्या तथा सम्मिलित कर्मचारीको संख्या लगायतको विवरण पेश गर्न निर्देशन दिएको छ ।

यस्तै बोर्डले संस्थाको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण एनएफआरएस अनुसार तयार गरे÷नगरेको, नगरेको भए सोको कारण, संचालक समितिमा वित्तीय विवरण पेश भएको मिति तथा वित्तीय विवरण प्रकाशन गरेको मिति, आन्तरिक तथा बाह्य लेखापरीक्षण सम्बन्धी विवरण र लेखापरीक्षण समितिको बैठक सम्बन्धी विवरण पेश गर्न निर्देशन दिएको छ ।


पुष्प दुलाल