मास प्रिन्टर आयो, अब दैनिक ७५०० स्मार्ट लाइसेन्स प्रिन्ट हुने



काठमाडौं । लामो समयदेखि स्मार्ट लाइसेन्स छपाईको समस्या समाधानका लागि सरकारले ल्याउने भनेको लेजर बेस्ड मास प्रिन्टर काठमाडौं आइपुगेको छ ।

यातायाता विभागका महानिर्देशक कुमार प्रसाद दहालका अनुसार एयरपोर्टमा मास प्रिन्टर आइसकेको छ, त्यसलाई ल्याएर केही दिन जडान गरेपछि काम सुरु हुनेछ ।

उनले भने, ‘एयरपोर्टमा आइसकेको छ, त्यसलाई जडान गर्न केही दिन लाग्छ त्यसपछि छपाईको काम सुरु हुन्छ ।’

मास प्रिन्टरले दैनिक कम्तीमा ५ हजार स्मार्ट लाइसेन्सको छपाइ गर्छ । दहालका अनुसार अहिले दैनिक औसत २ हजार ५०० स्मार्ट लाइसेन्स छपाई भइरहेकोमा मास प्रिन्टरपछि कुल ७ हजार ५०० स्मार्ट लाइसेन्स दैनिक छपाइ हुनेछ ।

दाहालले दिएको जानकारी अनुसार मास प्रिन्टर ल्याउने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले नयाँ निर्धारित समय असार २९ गतेसम्म ल्याउन नसकेपछि १८ दिनको समय थप गरिएको थियो ।

अहिले कुल साढे ४ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । मास प्रिन्टरबाट छपाई सुरु भएसँगै स्टकमा रहेका लाइसेन्स छाप्ने काम २ महिनामा सकिने उनले बताए ।

अहिले हरेक दिन ६ हजार लाइसेन्स प्रिन्टका लागि थपिन्छन् । तर हालको प्रिन्टरबाट जम्मा ३ हजार मात्रै स्मार्ट लाइसेन्स प्रिन्ट हुँदै आएको छ । त्यसपछि भनेकै समयमा स्मार्ट लाइसेन्स उपलब्ध हुने उनको भनाइ छ ।

यसअघि एमएसपीले स्मार्ट लाइसेन्स छपाई र मास प्रिन्टर खरिदका लागि तोकिएको समयमा काम पूरा गर्न नसकेको भन्दै आलोचना गरिएको थियो ।

ठेक्का पाएर पनि निर्धारित समयमा काम गर्न नसक्दा स्मार्ट लाइसेन्स कुरिरहेका ग्राहकमा मार परेको थियो ।


क्लिकमान्डु