५ महिना नपुग्दै यातायातका महानिर्देशक दहालको फेरि सरुवा



काठमाडौं । यातायात व्यवस्था विभागबाट महानिर्देशक कुमारप्रसाद दहाल सरुवा भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघूवीर महासेठको प्रस्तावमा दहालको सरुवा गरिएको हो ।

साउन १६ गते शुक्रबार सरुवाको खबर सुने लगत्तै कार्यालयबाट बाहिरिएका महानिर्देशक दहालले चिठी भने नबुझेको स्रोतले जानकारी दियो । दहाल आइतबार कार्यालय गएपछि मात्रै चिठी बुझ्न सक्ने स्रोतको भनाइ छ ।

यसअघि केही दिन अगाडि पनि दहाललाई सरुवाको चिठी पठाइएको थियो । उनलाई विभागबाट सरुवा गरेर सूचना आयोग पुर्याइए पनि मिडियामा मन्त्रि महासेठको आलोचना भएका कारण त्यत्तिकै सेलाएको थियो । दहालले चिठी समेत बुझेका थिएनन् ।

स्रोतका अनुसार नयाँबसपार्कमा अतिक्रमित जग्गाको खोजविन सुरु गरेकै कारण दहाल सुरुवा भएका हुन् । यसअघिका महानिर्देशक रुपनारायण भट्टराई २०७३ साल फागुन २१ गते नियुक्त भइ २०७५ जेठ ११ गते सरुवा भएका थिए ।

त्यसयता तीन जना महानिर्देशक भइसकेका छन् । भट्टराई सरुवा भएपछि प्रेम कुमार सिंहले कामूका रुपमा २ महिना काम गरेका थिए । गत वर्षको साउन १४ गते लावण्यकुमार ढकाल महानिर्देशक भएर आए पनि फागुन २१ गते सरुवा भएका थिए ।

त्यसपछि दहाल फागुन २७ गते महानिर्देशक भएर आएका थिए । नयाँबसपार्कमा रहेको १६५ रोपनी जग्गमध्ये ९० रोपनी मात्रै बसपार्कले चर्चेको छ ।

लोत्से बहुउद्देश्यीय संस्थाको नाममा अतिक्रमण भएको जग्गा खोजविन सुरु भएपछि उनलाई सुरुवा गरिएको विभागको स्रोतले बतायो ।


क्लिकमान्डु