नयाँ ट्याक्सी दर्ता खोल्ने माग सहित यातायात विभागमा निवेदन



काठमाडौं । लामो समयदेखि रोकिएको नयाँ ट्याक्सी दर्ता प्रक्रिया खुलाउनुपर्ने माग सहित यातायात विभागमा माग गरिएको छ ।

अभियन्ता रामबहादुर थापाले ट्याक्सी दर्ता तत्काल खोल्नुपर्ने माग गर्दै विभागमा निवेदन दिएका हुन ।

उनले भने, ‘लामो समयदेखि ट्याक्सीको दर्ता रोकिएको छ, यसलाई यथाशक्य छिटो खुलाउनुपर्छ त्यसैले विभागमा निवेदन दिएको हुँ ।’

गत साउन १२ गते थापाले दिएको निवेदनमा ५ वटा माग राखेका छन् ।

जसमा २० वर्ष गर्ने ट्क्यासीसँगै उक्त ट्याक्सीको नम्बर प्लेट पनि खारेज गर्नुपर्ने, पुराना नम्बर प्लेट १० लाख रुपैयाँदेखि ११ लाख रुपैयाँसम्म बिक्री भइरहेकोमा रोक लगाउने र पुराना नम्बर प्लेटलाई फेरि नयाँ ट्याक्सीमा दर्ता गर्न नपाउने माग गरिएको छ ।

साथै नयाँ ट्याक्सी दर्ता खोल्नका लागि व्यवस्था मिलाउनुपर्ने र ट्याक्सीमा यात्रु चढ्ने वित्तिकै १४ रुपैयाँ लिने व्यवस्था तत्काल हटाउनु पर्ने मागमा समावेश गरिएको छ ।

थापाले लामो समयदेखि दर्ता बन्द हुँदा काम गर्न चाहने व्यक्तिहरु मारमा परेको बताए । अहिले राजधानीमा ९ हजार वटक ट्याक्सी सञ्चालनमा छन् ।

जसमा २०५७ जेठ १७ गते दर्ता खोल्दा ७५०० ट्याक्सी दर्ता भएका थिए । जसमा ५६५० ट्याक्सी मात्रै अहिले सञ्चालनमा छन् ।

त्यसपछि २०७२ जेठ २८ गते थप ३३५० वटा ट्याक्सी दर्ता गरिएको थियो । जसमा १४ वटा जिल्लाका भूकम्प पीडितलाई १५ सय ट्याक्सी दिइएको थियो । जसका लागि १ लाख ४९ हजार ५५८ जनाले आवेदन दिएका थिए । त्यस्तै, तत्कालिन समयमा सर्वसाधरणलाई ७००, चालकलाई ५०० र ट्याक्सी धनीलाई ६५० वटा ट्याक्सी दर्ता गरिएको थियो ।

थापाका अनुसार एयरपोर्टमा रहेका ट्याक्सीको कार्टेलिङ समेत रहेको भन्दै त्यसलाई समेत हटाउन माग गरे । उनका अनुसार एयरपोर्टमा रहेका ट्याक्सी २०५० सालमा दर्ता भएका र २०७ वटा मात्रै सञ्चालनमा आउँदा अन्य मारमा परेको बताए ।

उनले भने, ‘२६ वर्षदेखि ट्याक्सी दर्ता खुलेको छैन्, त्यसमाथि मिटरमा पनि एयरपोर्टका ट्याक्सी जाँदैनन यसले यात्रुसँगै अन्य चालकलाई पनि मारमा परेको छ, त्यसैले दुबैतर्फका ट्याक्सीहरुको दर्ता तत्काल खोल्नुपर्छ ।’


क्लिकमान्डु