नेपाल वायु सेवा निगमको ओसाका उडान सातामा तीन दिन हुने



काठमाडौं । लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्रायो ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषको ऋणमार्फत करीब रु २४ अर्बमा खरीद गरिएका विमान गन्तव्य नपाएर थन्किरहेका बेला निगम व्यवस्थापन भने गन्तव्य सेवा विस्तारको धमाधम तयारीमा छ ।

त्यसो त, निगमभित्रको बेथिति, आर्थिक अराजकता, संस्थाभित्रको विकृतिलगायत विषय पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा ‘हेडलाइन’ बनिरहेका छन् । कहिले वाइडबडीको किस्ता तिर्न नसकेको, कहिले चिनियाँ विमान ‘ग्राउण्डेड’ भएको, विमानचालक पाइलटका विचित्रका गतिविधि तथा व्यवस्थापनमा रहेका पदाधिकारीबीच नै असामञ्जस्यता आदिले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको साखमाथि नै प्रश्नचिह्न खडा भएको छ तर चुनौतीका बीच सम्भावनाको खोजी गर्ने निगमलाई उपयुक्त अवसरमा पनि छ । आफ्नो व्यावसायिक योजनाका साथ स्रोत साधन र जनशक्तिको भरपुर उपयोग गरी सेवा विस्तारमा जुट्नु नै निगमको अपरिहार्यता हो ।

सञ्चारमाध्यममा आएजस्तै निगमले कामै नगरेको भन्ने पनि होइन । निगमले अन्तर्राष्ट्रियस्तरको ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवाबापत वाहवाही कमाइरहेकै छ । निगमसँग दक्ष पाइलट इञ्जिनीयर छन् । अनि विमान पनि थपिँदैछन । अन्तर्राष्ट्रिय गन्तव्य विस्तारको रफ्तारमा अघि बढेको निगमले अबको ठीक एक महीनाभित्रै जापानको ओसाका उडान गर्दैछ ।

ओसाकापछि जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भर्ने योजना छ । जापानपछि सकेसम्म दशैँअघि नै चीनका विभिन्न गन्तव्य तथा साउदी अरेबियाको रियादमा उडान गर्ने योजना बनाएको छ । त्यस्तै दक्षिण कोरियाको सिओलमा पनि उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाएको छ ।

जहाँसम्म ओसाका उडानको प्रसङ्ग छ, जुन केही दिनयता निकै चर्चा परिचर्चाको विषय बनिरहेको छ । ‘उडान तालिका स¥यो’, ‘यात्रु नै पाएन’, ‘जापान प्रतिनिधि फेरिए’, ‘सर्वोच्चमा मुद्दा–पुरानैलाई यथावत राख्न आदेश’जस्ता विषय सर्वत्र बजारमा फैलिए । तर निगमले हिम्मत हारेको छैन । अनेकन बाधा र अप्ठ्याराबीच सफलताको कडी खोज्दै निगम यतिखेर संस्थाको प्रतिष्ठालाई उँचो बनाउन लागिपरेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले ओसाका निगमको प्रतिष्ठासँग जोडिएको विषय रहेको भन्दै निर्धारित तालिकामै काठमाडौँ–ओसाका उडान हुने जानकारी दिए । “ओसाका उडान निर्धारित तालिकामै हुन्छ, यो निगमको प्रतिष्ठासँग जोडिएको विषय हो, बजारको हल्लाभन्दा पनि निगमले व्यापार गर्नैपर्ने बाध्यता छ”, उनले भने ।

पूर्वनिर्धारित योजनाअनुरूप निगमले भदौ १२ गते ९२९ अगष्ट २०१९० देखि काठमाडौँ–ओसाका सिधा नियमित उडान गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गर्नेछ । जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन । सन २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

निगमले छिमेकी मुलुक चीनका विभिन्न गन्तव्यमा उडान गर्नका लागि आवश्यक पहल गरिरहेको छ । चीनको गोञ्जाओ उडानका लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा भइसकेको भए पनि चिनियाँ पक्षले केही आलटाल गरिरहेको बताइन्छ ।

चीनको गन्तव्यमा सकेसम्म दशैँ अगाडि नै उडान गर्ने योजना बनाएको भए पनि चीनको सिभिल एभिएसनले निगमको ‘सेफ्टी अडिट’ गर्ने भन्दै समय मागेकाले केही विलम्ब भएको निगमका प्रवक्ता चन्दले बताए । अडिटका लागि चिनियाँ टोली अक्टोबर महीनामा नेपाल आउनेछ ।

“हामीले दशैँअघि नै चीन उडान गर्ने तयारी गरेका थियौँ, चिनियाँ पक्षले सेफ्टी अडिटको समय फेर्दा ढिलाइ हुन गएको छ”, प्रवक्ता चन्दले भने । चीन नेपालका लागि उपयुक्त स्रोत बजार मानिन्छ । चीनबाट सन २०१८ मा एक लाख ५३ हजार ६३३ पर्यटक आएका थिए ।

युरोपेली सङ्घको सुरक्षा चासोलाई देखाएर चीनले अडिट गर्ने भनेपछि निगमले पनि अडिटको आवश्यक तयारी गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले बताए । अडिटका लागि निगमका विज्ञ राजुबहादुर केसीको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरिएको छ ।

इयूको मापदण्ड नेपालको सिभिल एभिएसनस्तरकै हुने र त्यो मापदण्ड निगमले पूरा गरिसकेकाले अडिटको सामना गर्न समस्या नहुने स्पष्ट पारेका छन । चिनियाँले निगमको उडान सञ्चालन र इञ्जिनीयरिङ विभागको अडिट गर्ने जनाएको छ ।

जापानको प्रतिनिधि फेर्ने निर्णय यथावत राख्न हालै सर्वोच्च अदालतले दिएको आदेशले ओसाका उडानमा कुनै असर नपर्ने निगमको भनाइ छ । निगमले जापान प्रतिनिधि देवमान हिराचनलाई दुई साताअघि हटाएको थियो । हिराचनले सर्वोच्चमा रिट दायर गरेपछि जापान प्रतिनिधिबाट हिराचनलाई नहटाउन अन्तरिम आदेश दिएको थियो । निगमले हिराचनको स्थानमा निगमकै कर्मचारी सन्तोष पाण्डेलाई नियुक्त गरेको थियो ।

निगमले साउदी उडानको पनि तयारी गरेको छ । आगामी अक्टोबर महीनासम्म रियाद विमानस्थलमा जहाज उडान गर्ने योजनाका साथ आवश्यक तयारी भइरहेको सहायक प्रवक्ता कोइरालाले जानकारी दिए । यो गन्तव्यमा निगमले साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) उडान गर्नेछ ।

निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेशिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज छन । रासस


क्लिकमान्डु