चितवन, सर्लाही र रौतहटमा बाढी आउने खतरा
काठमाडौं । चितवन, सर्लाही र रौतहटमा बाढी आउने खतरा देखिएको छ । बाढी पूर्वानुमान शाखाका अनुसार चितवनको माडी, कल्याणपुर, ठोरी आसपासका क्षेत्रमा भीषण बर्षा भएका कारणले बाढी आउने खतरा देखिएको छ ।
आज दिउँसो १२.३० देखि नै सो क्षेत्रमा भीषण बर्षा भइरहेको छ ।
रिउखोला वनकट्टा बाढी मापन केन्द्रले स्थानीय नदीमा जलसतह खतराको सूचीभन्दा माथि पुगेको जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाले आज साँझसम्म सो स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै बाग्मतीको पधेरोदोभान कर्मैया बाढी मापन केन्द्रमा समेत जलसतह खतराको तह भन्दा माथि पुगेको जनाएको छ ।
सो केन्द्रले सर्लाही र रौतहटमा बाढी आउने खतरा देखिएको भन्दै स्थानीय बासीलाई सतर्क हुन आग्रह गरेको छ । यस्तै पश्चिमका केही स्थानमा समेत भारी बर्षा हुने सम्भावना देखिएको छ ।