विदेशी चलचित्रको सुटिङमा सरकारले प्रोत्साहन दिनुपर्छ- सुरज बैद्य




काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक तथा व्यवसायी सुरज बैद्यले पर्यटनको विकासमा सरकारले विदेशी चलचित्रका लागि प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

सोमबार क्लिकमाण्डूसँग कुरा गर्दै बैद्यले भने, ‘विदेशी चलचित्रको सुटिङ गर्नका लागि नेपाल उपयुक्त ठाउँ भएकाले त्यस्ता चलचित्रका लागि नेपाल ल्याउनका लागि प्रोत्साहन गर्नुपर्छ, यसले पर्यटन क्षेत्रको प्रचारप्रसारमा ठूलो सहयोग पुग्छ ।’

सोमबार चिनियाँ चलचित्रको टोलीलाई स्वागत गर्दै बैद्यले नेपालमा धार्मिक, प्राकृतिक रुपमा चलचित्रको सुटिङ गर्न उपयुक्त थलो रहेको बताए ।

छिमेकी मुलुक भारत विश्वको सबैभन्दा ठूलो चलचित्र उद्योग भएको उल्लेख गर्दै वैद्यले भारतीय चलचित्र क्षेत्रलाई नेपालमा सुटिङका लागि आकर्षित गर्न सकिने बताए । नेपालमा आईफा अवार्डका विषयमा चर्चा गर्दै त्यस्ता अवार्ड समारोहले पर्यटनको क्षेत्रमा उल्लेख्य भूमिका खेल्ने उनको भनाइ छ ।

उनले भने, ‘भारतको जिन्दगी ना मिले दोबारा चलचित्रमा स्पेनको टुरिजमको प्रमोसन गर्दा त्यसले निकै ठूलो फाइदा स्पेनलाई भयो, भारतबाट त्यो वर्ष धेरै मानिसहरु स्पेन पुगेका थिए ।’

उनले चलचित्र पर्यटनको प्रचारप्रसारमा निकै प्रभावकारी माध्यम भएकाले त्यसका लागि सरकारले नीतिगत तहबाट स्पष्ट हुनुपर्ने उनको सुझाव छ ।

सोमबार चीनबाट आएको टोलीले चलचित्र ‘द वे टु पियुर ल्याण्ड’को सुटिङका लागि नेपालका विभिन्न स्थानमा अवलोकन समेत गरेको छ । चलचित्रमा एक चिनियाँ दम्पती नेपाल आएर बसोबास गरेको कथालाई बुनिएको छ ।

चलचित्रका निर्देशक किम किङले नेपाल प्राकृतिक र धार्मिक हिसाबले असाध्यै राम्रो मुलुक रहेको र आफ्नो चलचित्रका लागि उत्कृष्ट स्थान भएको बताए । चलचित्रमा चिनियाँ कलाकारसँगै नेपालका स्थानीय कलाकारले समेत अभिनय गर्ने उनले जानकारी दिए ।

नेपालले सन् २०२० मा २० लाख विदेशी पर्यटक  ल्याउने लक्ष्य लिएको छ । जसमा सबैभन्दा बढी भारत र चीनबाट पर्यटकहरू नेपाल आउने गरेका छन् ।

भारती र चिनियाँ चलचित्रका माध्यमबाट संसारको सबैभन्दा बढी जनसंख्या भएका यी देशहरुका मानिसहरुमा पुग्न सकियो भने मुलुकको पर्यटन क्षेत्रको प्रचारप्रसारमा निकै सहयोग पुग्ने बैद्यको विश्वास छ ।


क्लिकमान्डु