पाकिस्तानको आकाश बन्द हुँदा नेपाल एयरलाइन्सलाई साढे ६ करोड घाटा



काठमाडौं । पाकिस्तानले आफ्नो आकाशमा विदेशी विमान उड्न प्रतिबन्ध लगाउँदा नेपाल वायू सेवा निगमको नेपाल एयरलाइन्सलाई साढे ६ करोड रुपैयाँ घाटा लागेको छ ।

भारत र पाकिस्तानबीच गत फेब्रुअरीमा तनाव उत्पन्न भएपछि पाकिस्तानले आफ्नो भूमिमाथिको आकाशमा विदेशी विमान प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

निगमका सह प्रवक्ता नवराज कोइरालाले भने, ‘पाकिस्तानले आकाशमा प्रतिबन्ध लगाउँदा नेपाल एयरलाइन्सको जहाज रुट परिवर्तन गर्नु परेको थियो, जसबाट ३० मिनेट अतिरिक्त समय र ३ टन बढी इन्धन खर्च गर्नुपरेको थियो ।’

उनका अनुसार १ टन इन्धनको १ लाख रुपैयाँभन्दा बढी पर्छ ।

त्यस्तै, हाल दुबईमा हरेक दिन उडान भइरहेको छ भने दोहामा साताको ३ दिन मात्रै उडान भइरहेको छ ।

कोइरालाले भने, ‘यस हिसाबले प्रत्येक उडानमा ३ लाख रुपैयाँ बढी खर्च लागेको थियो, पाँच महिनाको हिसाब गर्दा साढे ६ करोड रुपैयाँ बराबरको अतिरिक्त खर्च भएको छ ।’

नेपाल एयरलाइन्सले मात्रै होइन, पाकिस्तानले आकाशमा प्रतिबन्ध लगाएसँगै भारतीय विमान कम्पनीहरुले पनि ठूलो घाटा बेहोर्नु परेको थियो ।

जसमध्ये एयर इन्डियाले मात्रै पाँच महिनाको अवधिमा ४९१ करोड भारु घाटा लागेको जनाएको छ । भने पाकिस्तानले आफ्नो आकाश प्रतिबन्ध लगाएसँगै नेभिगेशन शुल्क वापत लिने शुल्कमा साढे १३ अर्ब रुपैयाँ गुमाएको थियो ।

पाकिस्तानको आकाशमा प्रतिबन्ध लगाएसँगै विमानहरु अरब समून्द्रको रुटबाट जानुपर्ने थियो ।

भारतीय विमान कम्पनीहरुका अनुसार अमेरिका र यूरोप जाने विमानहरुले ३० प्रतिशत बढी खर्च बेहोर्नु परेको थियो भने खाडी मुलुक जाने विमानहरुले २० प्रतिशत अतिरिक्त शुल्क बेहोर्नु परेको थियो ।

नेपाल एयरलाइन्सबाट यात्रु गर्ने यात्रुहरुले समेत प्रतिबन्धपछि महंगो दरका टिकटमा यात्रा गर्न बाध्य भएका थिए ।

भारतीय विमान कम्पनीहरुका अनुसार खाडी जाने यात्रुहरुले १ हजारदेखि २ हजार भारुसम्म थप शुल्कमा यात्रा गर्नुपरेको थियो ।


क्लिकमान्डु