सिटिजन लाइफले गर्यो १ अर्ब बढीको बीमा शुल्क आर्जन, ७५ करोडको आइपिओ ल्याउने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बीमाशुल्क १०० करोड रुपैंयाँ भन्दा बढी संकलन गरेको छ ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक दिप प्रकाश पाण्डेले कम्पनी सञ्चालनको दोश्रो वर्षमा नै एक सय करोड भन्दा बढी प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएकोमा व्यवस्थापन समूह, कम्पनीको बजार व्यवस्थापन लगायत विभिन्न विभागमा कार्यरत सम्पूर्ण कर्मचारी एवम् कम्पनीका अभिकर्तालाई धन्यवाद ज्ञापन गरेका छन । यसका साथै कम्पनी सञ्चालन गर्न सञ्चालक समितिले नीतिगत व्यवस्था गर्ने र कम्पनी सञ्चालन व्यवसायिक विज्ञद्वारा हुने धारणा समेत व्यक्त गरे ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीको व्यवसायिक विकास एवम समुन्नतीसंगै कर्मचारीको वृत्ति विकास हँुदै जानुका साथै यस वर्षको उपलब्धिले थप उर्जा प्रदान गरेको र आगामी वर्ष यो भन्दा अझ राम्रो व्यवसाय गर्न हौसला प्राप्त भएको बताए ।
यसका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिई कम्पनीले ७५ करोडको शेयर सर्वसाधारणलाई जारी गर्ने बताए ।


क्लिकमान्डु