क्रस होल्डिङ भएका बीमा कम्पनीलाई मर्जरमा जान दवाव, यी हुन् क्रस होल्डिङ भएका कम्पनी



काठमाडौं । बीमा कम्पनीमा क्रस होल्डिङ भएका कम्पनीहरुलाई मर्जमा लैजाने भएको छ ।

समितिले चुक्ता पूँजी नपुगेका कम्पनीसँगै पूँजी पुगे पनि क्रस होल्डिङ भएका कम्पनीलाई मर्जरमा लैजाने भएको हो ।

अझै जीवन र निर्जीबन बीमा कम्पनी गरी ९ वटा बीमा कम्पनीले तोकेको पुँजी पुर्याउन सकेका छैनन् । पुँजी पुर्याउन नसकेका र क्रम होल्डिङ भएका कम्पनीलाई मर्जरमा लैजाने बीमा समितिको योजना रहेको छ ।

अझ क्रस होल्डिङ नै भएका कम्पनीहरुमध्येले तोकेको पुँजी पुर्याउन नसकेको खण्डमा बीमा समितिले फोर्स मर्जरमा नै लैजाने नीति लिने तयारी गरेको छ । बीमा समितिका अनुसार १९ वटा जीवन बीमा तर्फ सूर्या लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी पुगेको छैन भने २० वटा निर्जीवन बिमा कम्पनीमध्ये एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनीले पुँजी पुर्याउन सकेका छैनन् ।

अहिले केही बीमा कम्पनीमा एकै व्यक्ति वा एउटै संस्थाको लगानी पनि रहेको छ । एकै प्रकृतिको काम गर्ने कम्पनीमा एकै व्यक्ति वा संस्थाको लगानी हुँदा सुशासन नहुने तथा आर्थिक अनियमितता हुने भन्दै बीमा समितिले लगानीको सीमा समेत तोकेको छ ।

निर्जीबन बीमा तर्फ नेको इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्समा राष्ट्रिय वाणिज्य बैंकको क्रस होल्डिङ रहेको छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा आइएमई समूहको लगानी रहेको छ । नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्समा विशाल समूहको लगानी रहेको बीमा समितिले जनाएको छ ।

आइएमई जनरल र नेपाल इन्स्योरेन्स मर्जरमा जाने बजार हल्ला छ । आइएमईको जनरलको साधारणसभाले मर्जरमा जाने अख्तियारी साधारणसभालाई दिएको छ ।
यता जीवन बीमामा पनि लाइफ इस्योरेन्स कर्पोरेसन, सूर्य लाइफ इन्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्समा विशाल समूहको लगानी रहेको बताइएको छ । यस्तै आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्समा पनि आइएमई समूहको लगानी रहेको छ ।

यी कम्पनी मध्ये दुई वटा बीमा कम्पनीले समितिले तोकेको पुँजी पुर्याउन सकेका छैनन् । समितिले तोकेको समयमा पुँजी पुर्याउन नसक्ने कम्पनीहरुमा यूनाइटेड इन्स्योरेन्स र प्रुडेन्सियल हुन् । पुँजी पुर्याउन भन्दै यूनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद जारी गर्ने तयारीमा रहेको छ भने प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारीमा रहेको जनाएका छन् ।

यता बीमा समितिले कुन कुन कम्पनीमा क्रस होल्डिङ रहेको छ भनेर अडिट पनि गरिरहेको जनाएको छ । बीमा समितिले जारी गरेको बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका–२०७३ मा क्रस होल्डिङ गर्न नपाउने व्यवस्था छ । निर्देशिकामा एउटै व्यक्ति वा समूहले एउटा कम्पनीमा १५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था गरेको छ । एउटा कम्पनीमा १५ प्रतिशतसम्म लगानी गरेका एकै प्रकृतिका अर्को कम्पनीमा १ प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने निर्देशिकामा नै व्यवस्था गरेको छ ।


क्लिकमान्डु