भ्रमण वर्षका लागि मेरियटमा ‘फूड टुरिजम’, एक जनाले पाए आबुधावी जान निशुल्क टिकट



काठमाडौं । काठमाडौंस्थित मेरियट होटलले इत्तिहास एयरलाइन्स र नेपाल पर्यटन बोर्डसँग मिलेर नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ‘फूड टुरिजम’को सुरुवात गरेको छ ।

मंगलबार मेरियट होटलमा आयोजित कार्यक्रममा विश्व एसोसिएसन अफ सेफ सोसाइटिजका अध्यक्ष थोमर ए गोग्लर, भारतीय सेफ सञ्जय ठाकुरका साथै मेरियटका एक्जुकेटिभ सेफ सञ्जय रञ्जन उपस्थित थिए ।

उनीहरुले विभिन्न नेपाली उत्पादनलाई प्रयोग गरी विभिन्न परिकारका स्वाद चखाएका थिए । नेपालका लागि श्रीलंका तथा भारतीय राजदूतसँगै पर्यटन क्षेत्रका विभिन्न व्यक्तिहरु उपस्थिती रहेको कार्यक्रममा बोल्दै ‘फूड टुरिजम’ प्रभावकारी माध्यम भएको बताए ।

उनले भने, ‘पर्यटकले कुल बजेटको एक तिहाइ बजेट खानामा खर्च गर्छन्, कुनै पनि ठाउँको खाना त्यस ठाउँको परिचय समेत भएकाले खानामा विशेष जोड दिनुपर्छ ।’

कार्यक्रममा बोल्दै विश्व एसोसिएसन अफ सेफ सोसाइटिजका अध्यक्ष थोमर ए गोग्लरले पर्यटकहरु कुनै पनि स्थानमा जाँदा त्यहाँको वास्तविक खाना खान मन पराउने भएकाले परिकारमार्फत पर्यटनमा टेवा पुर्याउन सकिने बताए ।

१८९ देशमा सेफका रुपमा काम गरिसकेका उनी नेपाली खानाका परिकार निकै राम्रो भएको र यहाँका मानिसहरु पनि निकै परिश्रमी भन्दै प्रशंसा गरे । नेपाली फूडलाई विश्वस्तरमा चिनान सकिए नेपाल भम्रण वर्ष २०२०का लागि निकै फाइदा हुने उनले बताए ।

उनले भने, ‘नेपालसँग खानाका परिकार धेरै प्रकारका छन, जसबाट पर्यटकहरु लोभ्याउन सकिन्छ ।’

कार्यक्रममा १ जनालाई इत्तिहाद एयरलाइन्सको तर्फबाट आबुधावीमा जानका लागि निशुल्क टिकट उपलब्ध गराइएको थियो ।

कार्यक्रममा लक्की ड्रमार्फत बिनम्र ढकालले उक्त टिकट जितेका थिए । उनले इत्तिहाद एयरलाइन्सको बिजनेश क्लासको टिकटमा निशुल्क आबुधावी गई त्यहाँ २ रात बस्न पाउनेछन् ।

नेपाल भ्रमण वर्ष २०२० का संयोजक तथा व्यवसायी सुरज बैद्यले भिजिटिङ कार्ड छनोट गरी लक्की ड्रका विजेता घोषणा गरेका थिए ।


क्लिकमान्डु