नेपाल एयरलाइन्सलाई नोटाममा आधा घण्टा छुट



काठमाडौं । जापानको ओसाकामा उडानका लागि तयारी गरेको नेपाल एयरलाइन्सलाई विमानस्थलमा आधा घण्टा उडान बन्दको अन्तर्राष्ट्रिय नियम (नोटाम) लागू नहुने भएको छ ।

अगस्ट २९ (भदौ १२) देखि जापानको ओसाका उडानको तयारी थालेको नेपाल एयरलाइन्सले त्रिभुवन विमानस्थलमा नोटामले गर्दा समस्या सिर्जना हुने भएपछि क्यानसँग निगमले अनुरोध गरेको थियो ।

निगमले असार २९ गते आइतबार पत्रको जवाफ पठाउँदै राति साढे २ बजेदेखि ३ बजेसम्म नोटाम नगर्ने बताएको निगमका सह–प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमले साढे २ बजे राति उडानको तालिका राखेको छ ।

कोइरालाले भने, ‘उडानको समयमा नोटाम लागू हुने हुँदा हामीले अनुरोध गरेका थियौ, सोही अनुसार क्यानले आधा घण्टा नोटाम नगर्ने पत्र पठाएको छ ।’

नोटमले उडानमा प्रभावित पार्ने सम्भावनासँगै निगमले राम्रोसँग मार्केटिङ गर्न नसकेको बताएको छ । कोइरालाले भने, ‘उडानका लागि कुनै समस्या नहुने भएपछि अब ढुक्कले मार्केटिङ गर्न पायौं ।’

उनका अनुसार नोटामको समस्याले गर्दा ढुक्कले टिकट काट्न पाएका थिएनौं । अब समस्या छैन् । अहिले भदौ १२ गतेका लागि यात्रुहरुको चासो अत्यधिक रहेको भन्दै कोइरालाले उडान सफल हुनेमा विश्वास व्यक्त गरे ।

नोटाम विमानस्थलमा रातिको समयमा लागू भए पनि जापान उडानका लागि भने आधा घण्टा हटाइने भएको हो ।

निगमले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार जापानको ओसाकामा उडान गर्ने तयारी गरिरहेको छ । निगमले ओसाकामा ३ वटा जीडीएस (ग्लोवल डिस्ट्रिब्यूसन सिस्टम) मार्फत मार्केटिङ गरिरहेको छ ।

यस अगाडि ओसाकामा असार १९ गतेदेखि उडान गर्ने तयारी गरेको थियो । निगमको व्यवस्थापकीय कमजोरीका कारण उडान रद्द भएको थियो ।


क्लिकमान्डु