स्मार्ट पार्किङको शूल्क संशोधन, आधा घन्टाको १५ रुपैयाँ मात्रै



काठमाडौं । काठमाडौं महानगरपालिका नगरसभाको पाँचौ अधिवेशन आइतबार पनि जारी रह्यो । बैठकमा आर्थिक वर्ष २०७६-०७७ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरियो । तर त्यस बारे छलफल गरी पारित गर्ने कार्य भने भोलि सोमबार दिउँसो ३ बजे बस्ने अर्को बैठकले मात्रै गर्ने भएको छ ।

बैठकले कामपा आर्थिक विधेयक, २०७६ मा गरिएको कर सम्बन्धी व्यवस्थालाई केही संशोधन गर्न राखिएको प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त विधेयकमा उल्लेख गरिए झैं काठमाडौं महानगर क्षेत्रका केही स्थानमा शुरु भएको स्मार्ट पार्किङको शुल्कलाई संशोधन गरिएको छ । हाल केही स्थानमा दुई पांग्रे सवारी साधनलाई प्रति घन्टा २५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएकोमा अब आधा घन्टा मात्र पार्किङ गरिए १५ रुपैयाँ मात्र लिने व्यवस्था गरिएको छ ।

बैठकले कामपा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा रहेको न्यायिक समितिले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित गरेको छ । उक्त प्रतिवेदन अनुसार कामपाको न्यायिक समितिमा यो वर्ष विभिन्न विषयमा कुल २७१ वटा उजुरी दर्ता भएकोमा १७६ को मुद्दा फछ्र्यौट भएको छ भने ९५ वटा विचाराधीन अवस्थामा रहेका छन् ।

त्यस्तै नगरसभाको चौथो अधिवेशनमा विभिन्न वडाका सदस्यहरूले विभिन्न विषयमा दर्ता गरेका मागहरूलाई सम्बोधन गर्न कामपा २३ वडाका अध्यक्ष मचाराजा महर्जनको अध्यक्षतामा गठन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन पनि बैठकले पारित गरेको छ । उक्त प्रतिवेदनमा कामपाका विभिन्न समितिहरूमा वडा सदस्यहरूलाई पनि सहभागी गराउने, नेपाल सरकारले प्रकाशित गरेको वरियताक्रममा वडा अध्यक्ष र वडा सदस्यहरूको स्थान समेत स्पष्ट पार्न नेपाल सरकारको ध्यान आकृष्ट गर्ने विषयमा सिफारिस गरिएको छ ।


क्लिकमान्डु