अर्घाखाँची जिल्ला कारागारबाट पुस्तक परियोजनाको सुरुवात



सन्धिखर्क । टिम नेपो नामक संस्थाले देश भरिका कारागारहरुका कैदी बन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनस्र्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका लागि ‘पुस्तक परियोजना’ नामक अभियानको सुरुवात अर्घाखाँचीको कारागार कार्यालयबाट उद्घाटन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा तथा टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलको विशिष्ट आतित्थ्यतामा भएको पुस्तक वितरण तथा पुस्तकालय उद्घाटन समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे, निमित्त जेलर कृष्ण प्रसाद आचार्य, सशत्र प्रहरी निरीक्षक गोपाल श्रेष्ठ, अनुसन्धान अधिकृत चौधरी, जिल्ला न्यायाधीवक्ता घिमिरे, पत्रकार महासंघ, अर्घाखाँचीका अध्यक्ष हिम बहादुर लेकाली लगायत ५३ जना कैदिहरुको सहभागीता रहेको थियो ।

नेपालका कुल ७४ कारागारहरुमा १८,८८१ कैदीबन्दीहरु रहदै आएकोमा उक्त ७४ कारागारको क्षमता भने १०,६०८ मात्रै छ भने त्यसमा पनि धेरै कारागारहरुमा पुस्तकालय नै छैनन । यस अवस्थामा कारागार पुस्तकालय स्थापनाले कैदीबन्दीलाई सकारात्मक सोचको विकास गर्न, सिप मुलक ज्ञान लिन, तथा कारागारमा रहदा आफुलाई सुधारेर समाजमा पुनस्र्थापना गर्ने अवसर पनि दिने भन्दै जीवन उपयोगी पुस्तकहरु पुस्तकालयमा उपलब्ध गराइएकाले पुस्तकहरुको उचित प्रयोगको हुनुपर्ने राय व्यक्त गरिएको थियो ।

समारोहका प्रमुख अतिथि अर्घाखाँची जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यस परियोजनाको सुरुवात अर्घाखाँचीबाट गरेकोमा टिम नेपोलाई विशेष धन्यवाद ज्ञापन गरे ।

सो पुस्तकालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने र टिम नेपोका सस्थापक अध्यक्ष निगम पौडेलले गरेका थिए ।


क्लिकमान्डु