इच्छाराजसँग डिभोर्स गरेर सिर्जनाले बेचिन् सिभिल बैंकको साढे १७ करोडको संस्थापक सेयर



काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको श्रीमती सिर्जना शाक्यसँग डिभोर्स भइसकेको छ ।

उनीहरुको सम्बन्ध विच्छेद भएपछि शाक्यले सिभिल बैंकमा भएको संस्थापक सेयर बिक्री गरेकी छिन् । नेपाल स्टक एक्सेचेन्ज (नेप्से)का अनुसार बुधबार सिभिल बैंकको १७ करोड ५३ लाख ५९ हजार ४०० रुपैयाँको संस्थापक सेयर बिक्री भएको छ ।

शाक्यले आफ्नो नाममा बैंकमा रहेको १७ लाख ५३ हजार ५९४ कित्ता सेयर अंकित मूल्यमा बिक्री गरेकी छिन् ।

उनको उक्त सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको छ । जसको सहमति पहिला नै भइसकेको थियो । कारोबार भने बुधबार भएको हो ।

शाक्यको उक्त सेयर १० नम्बर ब्रोकरबाट बिक्री गरेको थियो भने ब्रोकर नम्बर ४४ बाट किनीएको छ ।

बैंकले यसअघि नै उनको नाममा रहेको उक्त कित्ता सेयर लिलामी गर्ने भन्दै आह्वान समेत गरेको थियो । उक्त सेयरको यसअघि नै बोलकबोलबाट बिक्री भइसकेको थियो ।

श्रीमान बैंकको अध्यक्ष भएको बेला श्रीमतिले सेयर बेच्न नपाउने व्यवस्था छ । यसलाई चिर्नको लागि इच्छाराज र सिर्जनाले डिभोर्स गरेको कागज राष्ट्र बैंकमा बुझाएका थिए ।

ब्यावसायिक जगतमा अफ्ठेरो परेपछि नक्कली डिभोर्स गर्ने प्रचलन छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन-२०७३ मा संबैधानिक पद धारण गरेको व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाएको थियो ।

त्यसबेला तामाङ तत्कालीन नेकपा एमालेबाट सांसद थिए भने सिभिल बैंकमा अध्यक्ष थिए । बाफियाको उक्त व्यवस्था कार्यान्वयनमा आएपछि तामाङले सिभिल बैंकको अध्यक्ष पद छाडेर पत्नी सिर्जनालाई सञ्चालक बनाएका थिए ।

जब तामाङको सांसद पद सकियो । तब फेरि उनी बैंकको अध्यक्ष भए भने सिर्जनाले सञ्चालक पद छाडिन् ।


क्लिकमान्डु