प्राकृतिक विपद्को पूर्व जानकारी अब एनटिसीको मोबाइलबाट थाहा पाउन सकिने



काठमाडौं । वर्षायाम हुन सक्ने सम्भावित प्राकृतिक विपद्लाई लक्षित गरी नेपाल टेलिकमले पूर्व जानकारी दिने व्यवस्था मिलाएको छ ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद् सम्बन्धी पूर्वसूचना उपलब्ध गराउन मोबाइलमार्फत एसएमएस प्रवाह गर्दै आएको टेलिकमले
महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाएको छ ।

यस्ता विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद् सम्बन्धी पूर्व जानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको टेलिकमले जानकारी दिएको छ

कम्पनीले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका वासिन्दाहरुलाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ ।

हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यस सम्बन्धी पूर्वजानकारी उपलब्ध गराउनेछ ।

यसका लागि नेपाल टेलिकमका ग्राहकहरुले विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्नेगरी समूहगत सन्देश मार्फत आवश्यक जानकारी पठाउनेछ । यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ ।

विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । प्राकृतिक विपद्बाट सकेसम्म कम क्षति हुने वातावरण निर्माण गर्नुलाई दुवै संस्थाले दायित्वका रुपमा लिएका छन् ।

अहिले राष्ट्रव्यापी मनसुन शुरुवातको मौसम भएकाले खासगरी बाढी÷पहिरोका कारण धेरै नेपाली प्रभावित हुने सम्भावनालाई दृष्टिगत गरी क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्मरणीय छ, नेपाल टेलिकमले २०७२ सालको विनाशकारी भूकम्प पश्चात नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी प्राकृतिक विपद्सम्बन्धी पूर्व सूचना संप्रेषण गर्ने कार्यमा भूमिका निर्वाह गर्दै आएको छ ।


क्लिकमान्डु