४० जिल्लामा पुग्छ सल्यानमा उत्पादित टिमुरका विरुवा



काठमाडौं । सल्यानमा उत्पादन गरिएका टिमुरका बिरुवाको माग बढ्न थालेको छ । जिल्लामा उत्पादित टिमुरका विरुवाहरु निरोगी र स्वस्थ्य रहेकाले देशभित्रैबाट माग बढ्न थालेको हो ।

जिल्लामा उत्पादन भएका टिमुरका विरुवाहरु सबै क्षेत्रमा रोप्न सकिने र गुणस्तरीय भएकाले माग बढिरहेकाले जिल्लाका विभिन्न स्थानहरुमा विरुवा उत्पादनका लागि नर्सरी स्थापना गरिएको छ ।

विरुवाको माग बढ्न थालेपछि व्यावसायिक रुपमा टिमुरको नर्सरी स्थापना गरेर विरुवा उत्पादन गरिरहेको कपुरकोट गाउँपालिका–३ का तिलक शर्माले जानकारी दिए । “हामीले उत्पादन गर्ने विरुवाहरु गुणस्तरीय भएकैले ४० जिल्लाबाट तीन लाख बढी विरुवाको माग आएको छ माग अनुसार विरुवा पाउन पनि गाह्रो छ” शर्माले भने ।

उलने उत्पादन गरेका टिमुरका विरुवाहरु सङ्खुवासभादेखि बैतडीसम्मका ४० बढी जिल्लाबाट माग आएपनि मागअनुसारको आपूर्ति गर्न नसकेको बताए । “अहिले मसँग एक लाख ५० हजार मात्रै विरुवा छ माग तीन लाख छ अन्य विरुवा उत्पादकसँग समन्वय गरेर भएपनि पु¥याउँछु” शर्माले भने ।

टिमुरका प्रति विरुवा ४० का दरले विक्री भइरहेको बताउने शर्माले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन । टिमुर तथा फलफुलका विरुवा उत्पादन गर्दै आउनु भएका छत्रेश्वरी गाउँपालिका–२ बुरासेका तेजबहादुर योगीलाई पनि विरुवा पु¥याउन नसकेर हैरानी खेप्नुपरेको छ ।

नर्सरीमा उत्पादन भएका विरुवाहरु मुख्य मौसम नआउँदै विरुवाहरु सकिएपछि गुनासो गर्नेहरुको सङ्ख्या धेरै रहेको छ । “नर्सरीमा दुई लाख बढी विरुवाहरु उत्पादन गरेको थिए असारको पहिलो हप्ता नै सकियो अहिले फोन गर्नेहरुको ताँती छ, विरुवा छैन मागअनुसारको पूर्ति हुन सकिरहेको छैन” योगीले भने ।

समुन्द्र सतहदेखि १८ सय मिटर उचाइमा विरुवा उत्पादन गरिने भएकाले पनि माग बढेको उनको भनाइ छ । प्रतिविरुवा ५० देखि ६० रुपैंयासम्ममा विक्री गर्दै आएका योगीले वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन । “टिमुरको उमार शक्ति १० देखि १५ प्रतिशत हो तर हामीले ६० देखि ७० प्रतिशतसम्म विरुवा उमारेको छौँ” योगीले भने ।

टिमुरका विरुवाहरु खरिद गर्न ग्राहकरु घरमै आउने भएकाले बजारीकरणको समस्या नभएको बागचौर नगरपालिका–९ का ज्ञानबहादुर डाँगीले बताए । “नर्सरीमा उत्पादन गरेको एक लाख ३० हजार विरुवा सबै विक्री भइसकेका छन” डाँगीले भने ।

जडिबुटीको रुपमा रहेको टिमुरको मूल्य अत्यधिक भएकाले पनि विरुवाको माग बढिरहेको छ । अहिले दैनिक तीनदेखि चारवटा गाडीबाट टिमुरलगायत विभिन्न फलफुलका विरुवाहरु निर्यात भइरहेका छन । सुन्तला, जुनार, कागती, टिमुर, तेजपात, ओखर, स्याउलगायतका विरुवाहरु निर्यात भइरहेको छ । रासस


क्लिकमान्डु