५० प्रतिशत अनुदानमा कृषकलाई फलफूलका बिरुवा वितरण



तनहुँ । तनहुँको व्यास नगरपालिका कार्यालयले नगरपालिकाभित्रका कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ । कृषकको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको हो ।

व्यास नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा बिरुवा उपलब्ध गराइएको व्यास नगरपालिका कृषि शाखाका शाखाप्रमुख विश्वराज वाग्लेले जानकारी दिए ।

“व्यास नगरपालिकाभित्र रहेका १४ वटा वडाबाट दुई सय कृषकले १३ हजार बिरुवा माग गरेकामा हालसम्म ११ हजार बिरुवा वितरण गरिसकिएको छ”, उनले भने, “आँप, लिच्चीका रौतहट र सुन्तला मौसमीका बिरुवा सिन्धुली जिल्लाबाट ल्याएर कृषकलाई वितरण गरिएको हो । सरकारी दररेटअनुसार बिरुवाको जात हेरी कम्तीमा १० देखि रु ३७.५० सम्म कृषकले लगानी गर्नुपर्ने अवस्था रहेको छ ।

“दुई चार वटा बिरुवाका लागि टोलको सिफारिस र व्यावसायिक रुपमा खेती गर्ने कृषकका लागि वडा कार्यालयको सिफारिसमा वितरण गरिएको छ”, उनले भने, “यसका लागि कृषकले कुन जातको कति सङ्ख्यामा बिरुवा लैजाने हो अग्रिम नाम लेखाएर रकम जम्मा गर्नुपर्छ ।”

उनका अनुसार कागती पाँच हजार ३४५, लिच्ची दुई हजार २००, आँप अम्रपाली दुई हजार २७०, सुन्तला बिजु एक हजार ७००, अनार ५७५, सुन्तला कलमी १३५, अम्बा २२७, रूख कटहर २२५, निबुवा १४७ र मौसम जुनार ११० बिरुवा वितरण गर्न लागिएको छ । रासस

यसरी वितरण गरिएको फलफूलका बिरुवामा कागती स्थानीय जातको तीन वर्षको अवधिपश्चात् उत्पादन दिन शुरु गर्नेछ भने अन्यको हकमा एक वर्षदेखि दुई बर्षको अवधिमा उत्पादन दिन शुरु गर्ने उनले बताए ।


क्लिकमान्डु