बैंकर्स संघको निष्कर्शः राष्ट्र बैंकको नीतिलाई सहयोग गर्ने, मौद्रिक नीतिअघि मर्जरको प्रगति पेश गर्ने



काठमाडौं । बैंकर्स संघको पूर्ण बैठकले बिग मर्जर गराउने राष्ट्र बैंकको नीतिलाई सक्दो सहयोग गर्ने निष्कर्श निकालेको छ । २८ वटै वाणिज्य बैंकका सीइओहरुको आज बिहान ९ बजेदेखि ११ बजेसम्म बसेको संयुक्त बैठकले यस्तो निष्कर्श निकालेको हो ।

बिग मर्जरको छलफल गर्न बैंकर्स संघले पूर्ण बैठक बोलायो

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गत असार १२ गते वाणिज्य बैंकका सीइओ र अध्यक्षलाई बोलाएर मौद्रिक नीतिअघि नै कुन बैंक कोसँग मर्जरमा जाने हो प्रतिवद्धता पेश गर्नु भन्ने निर्देशन दिएका थिए ।

गभर्नरको निर्देशनपछि बैंकर्स संघले पूर्ण बैठक बोलाएर त्यसबारे छलफल गरेको हो । छलफलमा केही बैंकरले बिग मर्जरको नीति कार्यान्वयन गर्न कठिन भएको बताए पनि अधिकांश बैंकरले राष्ट्र बैंकको निर्देशन पालना गर्नुपर्ने धारणा राखेका थिए ।

‘राष्ट्र बैंकले बैंकहरुको मर्ज गराउने नीतिलाई कसरी सहयोग गर्न सकिन्छ र सफल बनाउन सकिन्छ भन्ने विषयमा छलफल भयो,’ प्रभु बैंकका सीइओ अशोक शेरचनले क्लिकमाण्डूसँग भने, ‘मौद्रिक नीतिअघि नै सबै बैंकले आआफ्नो तर्फबाट मर्जरका बारेमा भएको प्रगति विवरण राष्ट्र बैंकमा बुझाउने र बैंकर्स संघले मर्जरमा जानका लागि राष्ट्र बैंकसँग विभिन्न सुविधा तथा छुट माग्ने निर्णय भयो ।’

सानिमा बैंकका सीइओ भुवन दाहालका अनुसार राष्ट्र बैंकको मर्जर नीतिलाई सक्दो सहयोग कसरी गर्न सकिन्छ भन्ने छलफल भएको थियो । बैठकमा अधिकांश बैंकरले बोलेका थिए ।

बैंकरहरुले मर्जरमा जानका लागि राष्ट्र बैंकले थप इन्सेन्टिभ दिनुपर्ने माग समेत गरेका थिए ।

‘मौद्रिक नीतिअघि नै मर्जर बारे भएको प्रगति सबै बैंकले राष्ट्र बैंक समक्ष बुझाउने निर्णय भएको छ,’ दाहालले क्लिकमाण्डूसँग भने, ‘केही बैंकले त मौद्रिक नीति अघि नै मर्जरको सैद्दान्तिक सहमति गर्नेसम्मको कुरा गरेका छन् ।’


पुष्प दुलाल