साझाले बेच्यो ५ सय विद्युतीय कार्ड

रासस २०७६ असार १३ गते १५:५५ मा प्रकाशित

काठमाडौं । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको जनाएको छ । यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ ।

नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा पुर्याउन यो सेवा शुरु गरिएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार संस्थाले अहिले सबै बसहरुमा ‘ई-टिकेटिङ’ सेवा लागू गरिसकेको छ ।

यात्रुले बसमा कार्यरत सहचालक वा साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट कार्ड खरीद गर्न सक्छन् । नयाँ कार्ड खरीद गर्दा त्यसमा यात्रुले पूरै रकम पाउने उनले बताए । उनले भने, दुई सय रुपैयाँको कार्ड किन्दा यात्रुले दुई सय रुपैयाँ नै पाउनुहुन्छ ।’

कार्डको प्रयोग गर्दा यात्रुसँग सहचालकलाई दिने जति ठिक्क छ छैन वा बसले बढी भाडा लिन्छ भन्ने चिन्ता नहुने साझाले जनाएको छ । यात्रुहरु आकर्षित भइरहे पनि अरू बसले पनि यो सेवा शुरु गरेपछि नै यसको प्रयोग व्यापक बन्दै जाने पाण्डेयले बताए ।

नियमित रुपमा बसमा यात्रा गर्ने कर्मचारी, विद्यार्थीलगायतलाई यो सेवाले फाइदा पुर्याइरहेको उनले बताए । उनले भने, ‘यात्रुले यसबारेमा बुझ्दै जाँदा प्रयोग बढ्दै जाने विश्वास छ ।’

नेपालमा सार्वजनिक यातायातमा नयाँ–नयाँ प्रविधि भित्र्याइरहेको साझा यातायातको अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर चल्ने गरेर ७१ बस सञ्चालनमा छन् । साझाका एउटा ‘लो फ्लोर’ बससमेत सञ्चालनमा छ । साझाले स्थानीय सरकारसँगको सहकार्य बढाउँदै जाँदा उपत्यकाका धेरै पालिकाले साझाको शेयर खरीद गरिरहेका छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स