काठमाडौं महानगरले सेयर कारोबार गर्ने कम्पनीलाई कर लगाउने, कुनको कति लाग्छ कर ?



काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत वाणिज्य बैंकले केन्द्रीय कार्यालय राख्दा १ लाख रुपैयाँ महानगरपालिकालाई कर बुझाउनु पर्ने भएको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक बजेटमा केन्द्रीय कार्यालय राखे १ लाख रुपैयाँ शाखा कार्यालय खोले प्रति शाखा ५० हजार रुपैयाँ कर निर्धारण गरेको हो ।

त्यस्तै, विकास बैंकको केन्द्रीय कार्यालय राख्दा ७५ हजार रुपैयाँ तथा शाखा खोल्दा प्रतिशाखा ४० हजार रुपैयाँ कर बुझाउनु पर्ने भएको छ ।

फाइनान्स कम्पनीको केन्द्रीय कार्यालय खोल्दा ५० हजार रुपैयाँ र शाखा खोल्दा प्रति शाखा २५ हजार रुपैयाँका दरले कर निर्धारण गरिएको छ ।

सहकारी बैंकको हकमा केन्द्रीय कार्यालय राख्दा २५ हजार रुपैयाँ र सहकारी बैंकको शाखा कार्यालय खोल्दा १५ हजार रुपैयाँ, सहकारी संस्था खोल्दा ५ हजार रुपैयाँ र महिला सहकारी संस्था खोल्दा २ हजार रुपैयाँ कर बुझाउनुपर्ने भएको छ ।

महानगरपालिकाले सहकारी संस्थाको शाखा कार्यालय खोल्दा प्रति इकाइ ३ हजार रुपैयाँ, मनि एक्सचेञ्ज कम्पनी खोल्दा २५ हजार रुपैयाँ र मनि एक्सचेञ्ज काउन्टर खोल्दा ५ हजार रुपैयाँ कर निर्धारण गरेको छ ।

त्यस्तै, रेमिट कम्पनी खोल्दा प्रति इकाइ ४ हजार रुपैयाँ लाग्नेछ ।

बीमा कम्पनीको हकमा भने केन्द्रीय कार्यालय खोल्दा ५० हजार रुपैयाँ र शाखा कार्यालयलाई प्रति शाखा २० हजार रुपैयाँ कर लाग्ने भएको छ ।

त्यस्तै, सेयर कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीलाई १० हजार रुपैयाँ र सेयर रजिष्ट्रार गर्ने कम्पनीलाई २५ हजार रुपैयाँ कर लाग्नेछ ।


क्लिकमान्डु