टेलिभिजन हेर्ने शुल्क तीनगुणाले बढ्ने, डेमोको लागि २४ घण्टा विदेशी च्यानल बन्द



काठमाडौं । सरकारले विज्ञापन ऐन मार्फत कार्यान्वयन गर्न थालेको क्लिन फिडले केवल र डिटिएचमा टेलिभिजन हेर्न शुल्क तीनगुणासम्मले बढ्ने भएको छ ।

सरकारले ल्याउन लागेको विज्ञापन ऐनमा नेपालमा प्रशारण हुने विदेशी च्यानल विज्ञापन रहित क्लिन फिड प्रशारण हुनुपर्ने उल्लेख गरेको छ ।

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वयन समितिका संयोजक दिनेश सुवेदीले क्लिनफिड लागु गर्नु परेमा तीनगुणासम्म उपभोक्ताले शुल्क बढी तिर्नुपर्ने अवस्था आउने बताए ।

‘हामीले पहिलो कुरा क्लिनफिड च्यानल पाउननै मुश्किल पर्छ, भारतीय टेलिभिजन संचालक संघले नेपालको लागि छुट्टै क्लिनफिड दिन नसक्ने कुरा बताएका छन्, पाउने च्यानल प्रशारण गर्दा अहिलेको तेब्बरसम्म शुल्क तिनुपर्छ,’उनले भने ।

सरकारले क्लिनफिड लागु गर्न लागेको विषयमा इन्टरनेट सेवा प्रदायक समन्वयन समितिले पत्रकार सम्मेलन गरेर डेमोका लागि २४ घण्टासम्म विदेशी च्यानल प्रशारण रोकेको छ ।

सोमबार ३ बजेदेखि सुरु भएर मंगलबार ३ बजेसम्म विदेशी च्यानल प्रशारण हुने छैनन् ।
केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले सरकारले क्लिनफिड ल्याएर राष्ट्रघाती काम गर्न लागेको आरोप लगाए ।

‘राष्ट्रिय प्रसारण ऐनमा समेट्न पर्ने विषय विज्ञापन ऐन मार्फत ल्याइयो,यसले विदेशी डिटिएचको अवैध कारोबार थप बढाउने छ,’पराजुलीले भने ।

अहिले प्रसारण भएका विदेशी च्यानलमा ५ वटा मात्र क्लिनफिड दिने छन् । जीटिभी लगायत भारतका मुख्य च्यानले नेपालको लागि मात्र क्लिनफिड दिन नसक्ने जनाएको छ ।

समन्वयन समितिका संयोजक सुवेदीले नेपाली टेलिभिजन च्यानले विदेशी च्यानलको क्लिनफिड लागु भएपछि विज्ञापन बढ्ने भ्रममा रहेको बताए ।

‘म आफुपनि टेलिभिजन च्यानल संचालन गरेको छु,नेपाली दर्शकले विदेशी च्यानल बढी हेर्ने र नेपाली विज्ञापन समेत विदेशी च्यानलमा क्लिनफिड लागु भएपछि जान्छ,हाम्रो विज्ञापन विदेशीले लैजाने हो,’उनले भने ।

समन्वयन समितिले केबल टेलिभिजनमा ५० हजारले रोजगारी पाएको र २५ अर्ब लगानी भएको भन्दै यसलाई सरकारले धरासायी बनाएको आरोप लगाएका छन् ।

व्यवसाय नै सरकारको कारण बन्द हुने अवस्थामा पुगेको भन्दै संचार मन्त्रालय भन्सार जस्तो भएको भन्दै विभागिय मन्त्रीले भेट्न समेत नदिएको बताए ।


क्लिकमान्डु