पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ टोली नेपालमा, छलफलपछि केही दिनमै काम सुरु गर्ने




काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि चिनियाँ टोली शनिबार नेपाल आइपुगेको छ । गत बैशाखमै आउने भनिएको टोली २ महिनापछि मात्रै नेपाल आइपुगेको हो ।

टोलीले दैलेखका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि आवश्यक छलफलपछि मात्रै काम सुरु गर्नेछ ।

खानी तथा भूगर्भ विभागका उप महानिर्देशक तथा पेट्रोलियम पदार्थ अन्वेषण तथा प्रबद्र्धन आयोजनाका प्रमुख सुधिर रजौरेले भने ‘टोली शनिबार मात्रै नेपाल आइपुगेको छ, अब आवश्यक छलफलपछि अन्वेषणको काम सुरु हुनेछ ।’

उनका अनुसार आजदेखि छलफल सुरु भइसकेको छ । विभागले दैलेखको पादुकामा सम्भावना देखिएको छ ।

चीनले नेपालको बुटवल, पाल्पा, सुर्खेत र दैलेख गरी ४ क्षेत्रमा अन्वेषण गर्ने छ । त्यसमध्ये दैलेखमा ड्रिलङको काम गर्ने छ ।

विगतमा भएको प्रारम्भिकको खोज अनुसान्धानलाई मूर्तरुप दिने काम गरिनेछ । गत वर्ष चीन सरकारको स्वामित्वमा रहेको चाइना जिओलोजिकल सर्भको प्राविधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको प्रारम्भिक अध्ययन गरेको थियो ।

टोलीले दैलेखलगायतका जिल्लामा सम्भावित पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको काम गर्नेछ । टोलीले उक्त स्थानहरुमा आर्थिक रुपमा सम्भाव्य छ छैन, भण्डारन क्षमता कति छ जस्ता कुरा पत्ता लगाउनेछ ।

२०७२ सालको चैत महिनामा नेपाल र चीन सरकारबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धि द्विपक्षीय छलफल भएको थियो । तत्कालिन समयमा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले उक्त सम्झौता गरेका थिए ।


क्लिकमान्डु