भ्रमण वर्ष २०२० सफल बनाउन यूरोपका तीन ठाउँमा नेपाल सेल्स मिशन यूरोप २०१९ सम्पन्न



काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजना तथा निजी क्षेत्रका व्यवसायीहरुको सहभागितामा यूरोपको प्रमुख पर्यटन बजारहरु जुरिच, पेरिस र ब्रसेल्समा नेपाल सेल्स मिसन यूरोप २०१९ सम्पन्न भएको छ ।

जुन १७ मा सुरु भई जुन २१, २०१९ मा चलेको कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगका राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि राजदूत दीपक अधिकारी र बेल्जियम, नेदरल्याण्डस र लक्जेम्बर्ग (बेनेलक्स)का लागि राजदूत लोकबहादुर थापाले उपस्थित अन्तराष्ट्रिय ट्राभल एजेण्टस र टूर अपरेटरहरुलाई स्वागत सम्बोधन गरेका थिए ।

सेल्स मिसनको उद्देश्य नेपाली व्यवसायीहरुले यूरोपयन समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध विस्तार र व्यवसाय बृद्धि गरी नेपालमा बढी भन्दाबढी पर्यटक भित्र्याउने रहेको छ ।

नेपाल पर्यटन बोर्डले उक्त अवसरमा नेपाल हिमालहरुको मात्र देश नभएको, यहाँको प्राकृतिक, सांस्कृतिक आकर्षणहरुले पर्यटकलाई अवस्मरणीय अनुभव प्रदान गर्ने भावको प्रस्तूतिकरण गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी फ्रेन्च भाषी बाहुल्यता भएको शहरहरुमा यो सेल्स मिसनको आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले उक्त सेल्स मिशनमा गन्तब्य प्रस्तुतीकरण दिएकी थिइन । जसमा नेपालका विभिन्न पर्यटकिय आकर्षणहरु र पर्यटन प्रबद्र्धनमा नेपालले थालेको अभियानहरुसमाबेस गरिएका थिए ।

सहभागीहरु पोखरामा रहेको ह्विलचेयर प्रयोगकर्ताका लागि बनेको पदयात्रा मार्गका बारे जान्न उत्सुक देखिन्थे । बोर्डबाट निर्देशक थापा र नविन पोखरेल, प्रबन्धकले प्रतिनिधित्व गरेका थिए ।

२०१८ मा अन्तराष्ट्रिय पर्यटन आगमन २४.७७ प्रतिशतले बढेर १० लाखको संख्या हासिल भएको थियो र बेनेलक्स क्षेत्रमा ३१ प्रतिशतको बृद्धि भएको थियो ।


क्लिकमान्डु