काठमाडौं महानगरपालिकाले चार ठाँउमा बेलीब्रिज बनाउने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा बेलीब्रिज निर्माण गर्ने भएको छ । बिहीबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम पेश गर्दै कामनपाका मेयर विद्यासुन्दर शाक्यले यस्तो जानकारी गराएका हुन् ।
मेयर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिका भित्र रहेका बागमती, विष्णुमती, धोबीखोला र मनोहरा नदीको हरेक ५ सय मिटरको दूरीमा मानिसहरु आवत जावत गर्न मिल्ने पुल तथा बेलीब्रिजहरुको क्रमिक रुपमा निर्माण गर्ने बताए ।
यस्तै महानगरपालिकाले प्रमुख चोकहरुमा आधुनिक सिग्नलाईज प्रणालीमा आधारित ट्राफिक लाईटहरु जडान गर्ने कार्यक्रम ल्याएको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षबाट उपत्यका भित्र आउने सवारी साधनबाट हुने धुलो प्रदुषणलाई नियन्त्रण गर्नका लागि उपत्यका छिर्ने नाकाहरुमा आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गर्ने नीति अवलम्बन गरेको छ ।
आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाक्यले जोखिमयुक्त अवस्थामा रहेको पेट्रोल पम्प तथा ग्यास स्टेशनहरुलाई हटाउने नीति लिने बताएका छन् ।


क्लिकमान्डु