अपत्यारिलो ब्याजदरमा ५ अर्ब ऋण दिन्छु भन्ने कम्पनीको कार्यालय पुग्दा जे देखियो…



काठमाडौं । कान्तिपुर दैनिकमा बुधबार छापिएको १० सीसीको सानो श्यामश्वेत विज्ञापनले हामीलाई तान्यो । विज्ञापनमा ६ प्रतिशतको सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र ५ अर्ब रुपैयाँसम्म ऋण दिने उल्लेख गरिएको थियो ।

सम्पर्कका लागि विज्ञापनको पुच्छारमा २ वटा मोबाइल नम्बर, इमेल र वेवसाइटको ठेगाना राखिएको थियो । तर राजधानीको कुन ठाउँमा कार्यालय छ उल्लेख गरिएको थिएन ।

त्यही विज्ञापनलाई लिएर हामीले बुधबार साँझपख क्लिकमाण्डूले एउटा समाचार प्रकाशित गर्याे ।

कान्तिपुरमा छापिएको अपत्यारिलो ब्याजदरमा ऋण दिने विज्ञापनले राष्ट्र बैंकमा खैलाबैला मच्चायो

त्यही समाचारका आधारमा फलोअप गर्दै हामी बिहीबार बिहान कार्यालय खुल्ने समयमा वेवसाइटमा राखिएको ठेगाना खोज्दै थापाथलीस्थित ट्रेड टावर पुग्यौ ।
ट्रेड टावरको ग्राउण्ड फ्लोर भनेर लेखिएको ठेगानामा हामीले कँही कतै कार्यालयको बोर्ड देखेनौं ।

ग्राउण्ड फ्लोरको चारैतिर खोज्दा कार्यालयको बोर्ड नदेखेपछि हामीले विज्ञापनमा दिइएको नम्बरमा फोन गर्याै र सोध्यौ तपाईहरुको कार्यालय कहाँ छ ?

जवाफ आयो, ‘हामी अहिले मिटिङमा व्यस्त छौं भेट्न सक्दैनौ, केही समय पर्खनुहोस ।’

हामीले त्यस्तो जवाफ पाएपछि भन्यौ, ‘हामी यही आइपुगेका छौं, बरु कार्यालय कता पर्छ त्यही गएर कुरिबस्छौं ।’

यति भनेपछि अघिल्लो दिन सविना सुब्बा नाम बताउने ती महिलाले रेगस नामको कार्यालयभित्र आफूहरुको कार्यालय रहेको जानकारी दिइन् ।

फोन राखिसकेपछि हामी रेगसको कार्यालयमा पुग्यौ । हामीले आफ्नो परिचय दिँदै ६ प्रतिशत दरमा ५ अर्ब रुपैयाँसम्म ऋण दिने कम्पनी मार्केट पर्स ग्लोवलका बारेमा सोध्यौं ।

रिसेप्सनमा बसेका २ जना महिला र १ जना पुरुषले अहिले कार्यालयमा कोही पनि नभएको र आफ्नो सन्देश छाडेर जान आग्रह गरे ।

हामीले थप जान्ने इच्छा राखेपछि उनीहरुले त्यसबारेमा कुनै पनि जानकारी दिन नमिल्ने भन्दै अनकनाए ।

भने, ‘हामीले धेरै जानकारी दिन मिल्दैन, मार्केट पर्स ग्लोवल नयाँ कम्पनी हो, कार्यालयमा खासै कोही पनि आउनुहुन्न ।’

हामीले सोध्यौ, ‘कार्यालयको बोर्ड त कहीँ देखिन्न नि ?’

‘रेगसले विभिन्न कम्पनीहरुलाई भाडामा कार्यालय उपलब्ध गराउँछ, एक प्रकारले यो होटल जस्तै हो जहाँ तपाई केही समय शुल्क तिरेर बस्नु हुन्छ । उक्त कम्पनीले पनि हाम्रो कार्यालयमा भाडामा लिएर स्थापना गरेको छ’ ती महिलाले जवाफ फर्काइन् ।

मार्केट पर्स ग्लोवल कम्पनी भारतीय कम्पनी भएको र नेपालमा केही दिनयता मात्रै आएको भन्दै सीमित जानकारी दिइन् ।

हामीले सोध्यौ, ‘कार्यालय दर्ता भएको छ त ? कि तपाईहरुको कम्पनीबाट कारोबार गर्न मिल्छ ?’

कार्यालय दर्ता नभए पनि आफूहरुले प्यान नम्बर उपलब्ध गराउने समेत खुलाइन् ।

रेगसको मुख्य ढोकाको दायाँपट्टी त्यहाँभित्र कार्यालय रहेका झण्डै १६ वटा कम्पनीको नाम बोर्डमा राखिएको छ । तर मार्केट पर्स ग्लोवल कम्पनीको नाम भने छैन् ।

त्यहाँबाट फर्कने क्रममा हामीले फेरि ती सविना सुब्बालाई फोन लगायौ ।

उनले अहिले अपोइन्टमेन्ट नलिएकाले तत्काल भेट्न असम्भव भएको भन्दै पहिलेको भन्दा फरक जवाफ फर्काइन र सोधिन ‘बरु भन्नुहोस  तपाइलाई कति ऋण चाहिने हो ?’

हामीले ऋण चाहिने होइन, भेट्न आएको हो भनि उत्तर फर्काउँदा उनले भनिन्, ‘समय मिलाउन निकै गाह्रो छ, ठूलो मात्रामा ऋण चाहिएको हो भने छिट्टै समय मिलाउन भने सक्छु ।

यति भनेर हामी त्यहाँबाट नभेटी फर्कन बाध्य भयौं ।

पैसाको कारोबार गर्दा त्यसको नियमन र प्रत्यक्ष सरोकार राख्ने निकाय हो राष्ट्र बैंक ।

तर, कान्तिपुरमा त्यस्तो विज्ञापन छापिएपछि राष्ट्रमा खैलाबैला बुधबार नै मच्चिएको थियो । राष्ट्र बैंकमा दर्ता नभएको कम्पनीले यसरी ऋण दिने भन्दै विज्ञापन गरेपछि राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त कम्पनीले गैरकानूनी कारोबारका लागि सूचना निकालेको भन्दै राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले यस्तो प्रलोभनमा नफस्न आग्रह गरे ।

‘कान्तिपुरमा उक्त कम्पनीको विज्ञापन देखेपछि हाम्रो गंभीर ध्यानाकर्षण भएको छ, सरकारी निकायबाट लाइसेन्स नपाएको उक्त कम्पनीको उद्देश्य ठगी गर्ने हो,’ प्रवक्ता निरौलाले भने, ‘कोही पनि प्रलोभनमा परेर नफस्नु होला, राष्ट्र बैंकले आवश्यक छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउँदैछ ।’

प्रवक्ता निरौलाका अनुसार राष्ट्र बैंकले उक्त सूचना गैरकानूनी भएको भन्दै सूचना जारी गरेर सर्वसाधारणलाई जानकारी दिने तयारी गरिरहेको छ ।

‘हामी आजभोलि नै सूचना जारी गरेर सर्वसाधारणलाई जानकारी गराउँछौं,’ उनले भने, ‘र, उक्त कम्पनमाथि छानविन गरी कारबाही प्रक्रिया अघि बढाउँछौं ।’


क्लिकमान्डु