कान्तिपुरमा छापिएको अपत्यारिलो ब्याजदरमा ऋण दिने विज्ञापनले राष्ट्र बैंकमा खैलाबैला मच्चायो



काठमाडौं । बुधबार कान्तिपुर दैनिकको पृष्ठ नम्बर १० को पुच्छारमा १० सीसीको श्वामश्वेत विज्ञापन छापियो । नामै नसुनिएको मार्केट पर्स ग्लोवल कम्पनीले ६ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँसम्म ऋण दिने स्किम सहितको विज्ञापन छापेर उपभोक्तालाई ऋण लिनका लागि आह्वान गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाले अहिले १० प्रतिशतभन्दा कम ब्याजदरमा ऋण दिएको अवस्था छैन । नामै नसुनिएको कम्पनीले जम्मा ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भन्दै विज्ञापन गरेपछि क्लिकमाण्डूले यसबारे सत्यतथ्य बुझ्ने प्रयास गर्यो ।

विज्ञापनबारे थप जानकारी लिनका लागि विज्ञापनमा उपलब्ध गराइएको मोबाइल नम्बरमा सम्पर्क गरियो । फोन उठाउँदै एक महिलाले हामीलाई विज्ञापनको स्किम्सबारे बेलिविस्तार लगाइन् ।

विज्ञापनमा भनिए जस्तै ६ प्रतिशत मात्रै ब्याजदरमा ऋण उपलब्ध गराउने उनले दोहोर्याइन् । प्रकाशित विज्ञापनमा भनिए जस्तै अर्बौ रुपैयाँसम्म ऋण उपलब्ध गराउने र त्यसका लागि १० दिनजति समय लाग्ने उनले जानकारी दिइन् ।

कम्पनीको वेवसाइटको गृहपृष्ठ

विज्ञापनमा दिइएको वेवसाइटमा जाँदा नेपाल सम्पर्क कार्यालय काठमाडौंको थापाथली ट्रेड टावर भवनको तल्लो तलामा देखियो । विज्ञापनमा कार्यालयको ल्याण्डलाइन फोन समेत उपलब्ध गराइएको छैन भने यसको मुख्य कार्यालय भारतको गाजियावादमा रहेको उल्लेख गरिएको छ ।

आफूलाई सविना सुब्बाकारुपमा परिचय दिने ती महिलाले उपभोक्तालाई विदेशबाट पैसा ल्याएर ऋण दिने गरेको बताइन् । कम्पनीले क्यासिनो, होटल गेमिङ, रिसोर्ट, हस्पिटल, स्कुल, कलेज, ट्रेडिङ इन्स्टिच्यूट तथा म्यानुफ्याक्चरिङ क्षेत्रका लागि ऋण दिने उल्लेख गरेको छ ।

साथै भारतका विभिन्न ११ वटा सहरसँगै नेपालमा काठमाडौं बाहेक पोखरा, इटहरि, बिराटनगर, धरान, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, जनकपुर, घोराहीमा समेत सेवा उपलब्ध गराउने भनिएको छ ।

वेवसाइटबारे जानकारी दिने हुज डट कमबाट प्राप्त जानकारी अनुसार यो वेवसाइट सम्पर्क व्यक्तिका रुपमा माइकल हुसटनको नाम उल्लेख छ । जसको सम्पर्क ठेगानामा ४९३ सेक्टर ४ गाजियावाद भारत उल्लेख छ ।

कम्पनीको ठेगाना

ती महिलासँग बुझिसकेपछि हामीले यसबारे राष्ट्र बैंकलाई सोध्यौं । किनभने पैसाको कारोबार गर्दा त्यसको नियमन र प्रत्यक्ष सरोकार राख्ने निकाय हो राष्ट्र बैंक ।

तर, कान्तिपुरमा त्यस्तो विज्ञापन छापिएपछि राष्ट्रमा खैलाबैला मच्चिएको रहेछ । राष्ट्र बैंकमा दर्ता नभएको कम्पनीले यसरी ऋण दिने भन्दै विज्ञापन गरेपछि राष्ट्र बैंकको गंभीर ध्यानाकर्षण भएको छ ।

उक्त कम्पनीले गैरकानूनी कारोबारका लागि सूचना निकालेको भन्दै राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले यस्तो प्रलोभनमा नफस्न आग्रह गरे ।

‘कान्तिपुरमा उक्त कम्पनीको विज्ञापन देखेपछि हाम्रो गंभीर ध्यानाकर्षण भएको छ, सरकारी निकायबाट लाइसेन्स नपाएको उक्त कम्पनीको उद्देश्य ठगी गर्ने हो,’ प्रवक्ता निरौलाले भने, ‘कोही पनि प्रलोभनमा परेर नफस्नु होला, राष्ट्र बैंकले आवश्यक छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउँदैछ ।’

प्रवक्ता निरौलाका अनुसार राष्ट्र बैंकले उक्त सूचना गैरकानूनी भएको भन्दै सूचना जारी गरेर सर्वसाधारणलाई जानकारी दिने तयारी गरिरहेको छ ।

‘हामी आजभोलि नै सूचना जारी गरेर सर्वसाधारणलाई जानकारी गराउँछौं,’ उनले भने, ‘र, उक्त कम्पनमाथि छानविन गरी कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

विज्ञापनमा दिएको नम्बरमा क्लिकमाण्डूले गरेको कुराकानीको अडियो

 


क्लिकमान्डु